हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका–४ बालमैत्री वडा घोषणाको अन्तिम चरणमा पुगेको छ। बालमैत्री स्थानीय शासन वडा समितिका संयोजक तथा वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षता र गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा, बालमैत्री स्थानीय शासन घोषणा उन्मुख अभियान सञ्चालनपश्चात सूचकहरूको नतिजा निर्धारण र प्रमाणीकरण सम्पन्न गरिएको हो।

गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले सूचकको नतिजा निर्धारण तथा प्रमाणीकरणमा हस्ताक्षर गरेपछि, वडा बालमैत्री घोषणा उन्मुख भएको घोषणा सहजकर्ता सुमन ढकालले जानकारी दिए। उनका अनुसार, ५१ वटा मुख्य सूचकमध्ये दुई वर्षमा ८० प्रतिशत प्रगति हासिल भएकाले गाउँपालिकाको अनुगमनपछि जिल्ला समन्वय समिति झापाले बालमैत्री वडा घोषणा गर्ने छ।

दुई वर्षको अवधिमा पाँच चरणमा २८ वटा सूचक पूरा गर्दै वडा नम्बर ४, हल्दीबारी गाउँपालिकाको पहिलो बालमैत्री वडा बन्ने तयारीमा पुगेको हो। कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, बालबालिका शाखा प्रमुख कृष्ण थापा मगर, बालमैत्री अभियान सहजकर्ता सुमन ढकाललगायतले मन्तव्य राखेका थिए।

पालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, महेन्द्र वडाभित्रका बाल सञ्जालका प्रतिनिधि, विद्यालयका बालसञ्जालका प्रतिनिधि, सरोकारवालाहरू, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य भावना दाहालले राखेकी थिइन्। कार्यक्रमको सहजीकरण निवर्तमान वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।