झापा ।
नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नर विश्वनाथ पौडेलले बिहीबार दिउँसो व्यवस्थापन समितिको बैठक बसेर छलफल गरेपछि आज सार्वजनिक गर्न लागेका हुन् ।
उनले हिजो साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेका थिए । त्यसपछि बिहीबार साँझ नै तयारी सञ्चालक समितिको बैठक डाकेका थिए । त्यसपछि मौद्रिक नीतिलाई अन्तिम रूप दिन अहिले राष्ट्र बैंक सञ्चालक समितिमा बैठक बसिरहेको छ ।
बैठक टुंगिएपछि आजै दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने योजना रहेको स्रोतले बताएको छ । नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेल निकै उदार बन्ने सम्भावना देखिएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता र चार वर्ष यताकै न्यून ब्याजदर हुँदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन सकेको छैन । आर्थिक गतिविधि चलायमान बन्न सकेको छैन । ऋणीहरुको ऋण तिर्ने क्षमतामा ह्रास आइरहेको छ ।
ऋणीले समयमै साँवा ब्याज तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको पनि खराब कर्जा बढिरहेको छ । यस्तो अवस्थामा ऋणी र बैंक तथा वित्तीय संस्था दुवै पक्षलाई राहत हुने गरी मौद्रिक नीति खुकुलो गर्ने राष्ट्र बैंकको तयारी छ ।