हल्दीबारी । 

गुरु पूर्णिमाको अवसर पारेर झापाको हल्दीबारी गाउँपालिका–४ जलथलस्थित वडाबारीमा रहेको महेन्द्र माध्यमिक बिद्यालयको पूर्व बिद्यार्थी समाजले गुरुहरुलाई सम्मान गरेको छ । महेन्द्र माविको परिसरमा आज (बिहीवार) आयोजित कार्यक्रममा समाजले चार जना शिक्षकसहित एक जना जग्गादाता र एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रालाई सम्मान गरेको हो । 

शिक्षक रामचन्द्र उप्रेती, गणेशप्रसाद नेपाल, जर्नादन उप्रेती, डिल्लीराम उप्रेती र जग्गादाता इन्द्रलाल राजवंशीलाई सम्मान  गरिएको छ । यस्तै २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी निशा घिमिरेलाईसमेत सम्मान गरिएको छ । 

महेन्द्र माविको पूर्व बिद्यार्थी समाजले उनीहरुलाई सम्मान गरेको हो । समाजका अध्यक्ष पुष्पराज निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्दने रहेका थिए । 

प्रमुख अतिथि लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दीबारी–१ का वडाध्यक्ष देबीबहादुर थापा, हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापालगायतले गुरुहरुलाई सम्मान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, हल्दीबारी–१ का वडाध्यक्ष थापा, सम्मानीत गुरुहरुका तर्फबाट जर्नादन उप्रेती, महेन्द्र माविका प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, नेपाल रेडक्रस सोसाइटी उप–शाखा जलथलका सभापति रेमप्रसाद खरेललगायतले पूर्व बिद्यार्थी समाजले गरेको कार्यको प्रशंसा गरेका थिए ।

स्वागत समाजका उपाध्यक्ष कुशव मैनालीले गरेको कार्यक्रमको सहजीकरण सचिव प्रल्हाद सिलवाल र उपाध्यक्ष हेमा मिश्र पौडेलले गरेका थिए । उपस्थित अतिथिहरुलाई समाजले हल्दीबारीको स्थानीय उत्पादन हल्दी मायाको चिनोका रुपमा प्रदान गरेको थियो ।  

samman 2