बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

सम्मानित विद्यार्थीहरूमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुईटेल र अश्विन लुईटेल, वडा नं. ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल, वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदय प्रसाद सिवाकोटी,  तथा वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला रहेका छन्।

उनीहरूका साथै अभिभावकहरू र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई पनि नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले खादा र टीका लगाएर सम्मान  गरेका छन् । 

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले शिक्षकहरूको मेहनत र अभिभावकको सहयोगकै कारण विद्यालयहरू क्रमशः उत्कृष्ट बन्दै गइरहेको बताइन् । उनले सामुदायिक होस् वा संस्थागत भेदभाव नगरी विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कक्षा ८ र एसईईको प्रगति विवरण प्रस्तुत  गरेका थिए ।  यस्तै, महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले आगामी वर्षमा विद्यालयको शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता जनाउँदै नगरपालिकालाई आवश्यक नीतिगत सहयोग गर्न आग्रह गरे । सम्मानित विद्यार्थीहरूको तर्फबाट मोहनमाया माध्यमिक विद्यालयकी छात्रा येलिना तिम्सिनाले धारणा व्यक्त राखेकी थिइन् । 

कार्यक्रम सञ्चालन शिक्षा शाखाकी अधिकृत जानुका रेग्मीले गरेकी थिइन् भने लासाङ तामाङले स्वागत गरेकी थिइन् ।