बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिका–६ स्थित छाताचोकमा रहेको ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कुल (वीपीएसएस) ले यसै शैक्षिक सत्रदेखि कक्षा ११ को अध्यापन  शुरु गर्ने भएको छ । स्कुलले आज (आइतवार) विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी व्यवस्थापन संकायमा कक्षा–११ को अध्यापन शुरु गरेको जनाएको हो ।

‘सीपमूलक शिक्षा रोजगारीको आधार’ भन्ने नारालाई आत्मसात गर्दै स्कुलले होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान, ट्राभल एन्ड टुरिजम जस्ता विषयहरु अध्यापन गराउन लागेको हो । 

स्कुलले विगत १०÷११ वर्षदेखि एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको र यस शैक्षिकसत्रदेखि व्यवस्थापन संकायमा अध्यापन शुरु गर्न लागेको विद्यालयका संस्थापक प्रिन्सिपल ताराप्रसाद नेपालले जानकारी दिए । उनले अभिभावक र विद्यार्थीको माग अनुसार विद्यालयमा कक्षा थप गरी कक्षा–११ र १२ को पठनपाठन शुरु गर्न लागिएको  बताए । 

उनका अनुसार हाल नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी र अभिभावकले भर्नाका लागि सम्पर्क गरिरहेका छन् । विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै स्कुलले  शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याएको संस्थापक प्रिन्सिपल नेपालले बताए । 

स्कुलबाट ४० जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ८५ प्रतिशत बिद्यार्थी  उत्तीर्ण भएको नेपालले जानकारी दिए । स्कुलमा ३२ जना क्षमताको एड्भान्स कम्प्युटर रहेको छ भने होटल म्यानेजमेन्टका लागि स्तरीय ल्याब रहेको बिद्यालयले जनाएको छ ।

स्कुलमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीलाई पुस्तक विद्यालय पोशाकमा विशेष छुट र एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई २० प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ । शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कुलले कक्षा–११ मा गुणस्तरीय शिक्षा दिन अनुभवी शिक्षक, स्वच्छ शैक्षिक वातावरण, आधुनिक शिक्षण विधिको प्रयोग गर्ने उदेश्य राखेका छन् । 

स्कुलले नृत्य, गायन तथा बाद्यवादन, नाटक, चित्रकला तथा हस्तलेखन, कराँते, उस, आचरण लक्षित विशेष कक्षा सञ्चालन गरिरहेको छ । पत्रकार सम्मेलनको सहजीकरण स्कुलका भाइस प्रिन्सिपल रमेशकुमार नेपालले गरेका थिए भने पत्रकार सम्मेलनमा स्कुलका लेखा प्रमुख किशोर पौडलसहित शिक्षक तथा शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।