हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले पूर्ण साक्षरता पालिका घोषणा गरेको छ । झापाका १५ वटा पालिका मध्ये पूर्ण साक्षरता पालिका घोषणा गर्ने पहिलो पालिका हल्दीबारी भएको छ ।
पालिकाको कार्यालयमा आज (शुक्रवार) पूर्ण साक्षरता पालिका घोषणासहित चारवटा कार्यक्रम भएका छन् । पालिकाले पूर्ण साक्षरता पालिका घोषणासहित गाउँ शिक्षा योजनाको सार्वजनिकिकरण, पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा र शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरुलार्ए सम्मान गरेको छ ।
२०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका ३२ जना बिद्यार्थीलाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको थियो । हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि सांसद लिङ्देनले कार्यक्रमलाई सम्बोधन गर्दै सवै भन्दा वढी प्राथमिकता दिने क्षेत्र शिक्षा र स्वास्थ्य रहेको बताए । ‘शिक्षा र स्वास्थ्यको क्षेत्रको विकास मैले जोड दिदै आएको छु’ नेता लिङ्देनले भने ‘मैले शुरुदेखि नै जोड दिदै आएको साथै राजनीतिक यात्रामा पनि प्रमुख महत्व दिदै आएको क्षेत्र शिक्षा र स्वास्थ्य नै हो ।’
उनले जवसम्म शिक्षा र स्वास्थ्य जनताको पहुँचका रुपमा स्थापित हुँदैन, तवसम्म देशले प्रगति गर्यो भन्न नमिल्ने बताए । बाटाहरु र ठूला–ठूला भवन बनेर पनि शिक्षा र स्वास्थ्यमा प्रगति नभए त्यसको कुनै अर्थ नरहने बताए । उनले राज्यले सवैका लागि शिक्षा, स्वास्थ्य पूर्ण रुपमा निःशुल्क हुनु पर्ने उनको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडा नम्बर २ की कार्यबहाक वडाध्यक्ष रचना कुलुङले शुभकामना मन्तव्य राखेकी थिइन् ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले पालिको स्वास्थ्यका बिषयमा जानकारी गराएको कार्यक्रममा शिक्षा शाखा प्रमुख जनककुमारी राईले पालिकाको शिक्षाका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सञ्चालन पालिकाका योजना शाखा प्रमुख राजन न्यौपाले गरेका थिए ।
कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।