बिर्तामोड ।
झापामा बैशाखयता ६१ जना नयाँ डेंगु संक्रमित फेला परेका छन् । गत बैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जना डेंगु संक्रमित फेला परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काले जानकारी दिए।
उनका अनुसार बिर्तामोड नगरपालिकामा ५४ जना, दमक नगरपालिकामा एक जना र गौराहद नगरपालिकामा छ जना डेंगु संक्रमित फेला परेको हो । बिर्तामोडमा डेंगु रोगको संक्रमण उच्च देखिएको बताउँदै उनले बिर्तामोडमा अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीमा परीक्षणका क्रममा डेंगु देखिएकाले पनि संक्रमण दर उच्च देखिएको बताए ।
यता, झापामा चालू आर्थिक वर्ष २०८१÷०८२ को असार १३ गतेसम्म एक हजार दुई ९१ जना डेंगु संक्रमित फेला परेको खड्काले बताए । यसैबीच, बिर्तामोडमा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान शुरु भएको छ । नगरपालिकाको सहभालहमा आज ‘डेंगु लगायत किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्टको लार्भा नष्ट गर्न सरोकारवालसँग अभिमुखीकरण कार्यक्रम’सँगै लार्भा खोजी गरी नष्ट गर्ने अभियान शुरु भएको हो ।
बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवम् उपप्रमुख नगेन्द्र संग्रौलाले अभियानको शुभारम्भ गरेका छन्। बिर्ता बजार क्षेत्रमा रहेका मोटरसाइकल ग्यारेज लगायतका सम्भावित स्थानमा गएर लार्भा नष्ट गरिएको छ । अभिमुखीकरण कार्यक्रममै नगरका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रलाई महामारीजन्य रोग नियन्त्रणका लागि पोर्टेबल महामारी किट वितरण गरेको छ ।
उपप्रमुख संग्रौलाले रोग लाग्नुभन्दा लाग्न नदिने वातावरण सिर्जना गर्न सबै लाग्नुपर्ने बताए । नगर क्षेत्रमा रहेका सहकारी, बैंक लगायतका संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत महामारीजन्य रोग नियन्त्रणमा काम गर्न आग्रह गरे।
अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अजय पौडेलले प्रस्तुतीकरण दिनुहुँदै मनसुन शुरु भएसँगै किटजन्य महामारीको संक्रमण उच्च हुने बताए । उनले अन्य किटभन्दा लामखुट्टेको जोखिम बढी बताउँदै छ प्रकारका रोग लामखुट्टेले सार्छ, समयमै नियन्त्रण गर्न सकिएन भने छोटो समयमा महामारीको रुपमा फैलिन सक्ने बताए ।
बिर्तामोडमा पाँच वर्षयता मलेरिया देखिएको छैन भने कालाजार र जापानिजइन्स्फ्लाइटिरका बिरामी एक÷एक जना भेटिएको पौडेलले बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर विष्टले जलवायु परिवर्तनका कारण डेंगु संक्रमण पुषमा समेत देखिएकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम लाग्नुपर्ने आवश्यकता रहेको औंल्याए । पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले डेंगु नियन्त्रणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गरेर विद्यार्थी र अभिभावकलाई सचेत गराउनु पर्नेमा जोड दिए ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु एक प्रकारको ज्वरो हो । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो ।
यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने लगायतका लक्षण पनि देखा पर्न सक्छ ।