शनिश्चरे ।
अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले मानिसका आवश्यकता कहिल्यै पूरा नहुने बताउँदै नगरको शिक्षा नीतिलाई सुधार गर्दै लानु पर्ने बताएका छन् ।
झापाको अर्जुनधारा नगरपालिकाले निर्माण गरेको ‘हाम्रो अर्जुनधारा’ नामक स्थानीय पाठ्यक्रम हस्तान्तरण कार्यक्रममा आज (मंगलबार) नगर प्रमुख बलदेवले बिगतमा बिग्रेका शिक्षा नीति धेरै सुधार भएको र आगामी दिनमा अझ सुभार गर्नुपर्ने बताएका छन् ।
‘पैसाले सान पाइन्छ, मान पाइदैन’ नगर प्रमुख गोम्दनले भने ‘नगरले गरेका कामको बिरोध मात्र नभएर त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ उनले नगरले गुणस्तरीय शिक्षाको नीति लिएका कारण पनि स्थानीय पाठ्क्रम निर्माण गरेकोले केही बिषय छुट भएमा कक्षा १ देखि ५ को स्थानीय पाठ्यक्रममा समेटिने बताए । उनले निर्माण भएका स्थानीय पाठ्यक्रम सवै बिद्यालयले प्रयोग गर्न आग्रहसमेत गरेका छन् ।
नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि बद्रीप्रसाद ओलीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले नगरभित्रका सवै क्षेत्रलाई समेटेर तयार पारेको कक्षा ६, ७ र ८ को स्थानीय पाठ्यक्रम आज नगर सभापछि आयोजित संक्षिप्त कार्यक्रममा संयोजक ओलीले नगर प्रमुख गोम्देनलाई हस्तान्तरण गरेका थिए ।
पाठ्यक्रम निर्माण समितिका संयोजक ओलीले नगरको भूगोल, जातजाती, धर्मसंस्कृति, खोलानाला, मठमन्दिर सवैलाई समावेद गरेर स्थानीय पाठ्यक्रम निर्माण गरेको बताए । नगरका सामुदायिक बिद्यालय, शिक्षक, प्याब्सनसँग सुझाव संकलन गरेर त्यसको आधारमा पुस्तक तयार गरिएको उनले बताए । पाठ्य पुस्तकमा केही कुरा छुट भए सुझावका आधारमा कक्षा १–५ मा थप गरिने उनको भनाई छ । हाल कक्षा ६, ७ र ८ का लागि ४ हजार ५०० पुस्तक प्रकाशन गरिएको उनले बताए ।
पुस्तक हस्तान्तरण कार्यक्रममा नगरकी उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तीलचन रिमाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरका कर्मचारी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षकलगायतका उपस्थिति रहेको थियो ।
नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगरका प्रशासन शाखा प्रमुख तथा स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य सचिव चुडामणि निरौलाले गरेका थिए ।