बिर्तामोड ।

 बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गरेका छन् । 

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिइन् । पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उनले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गरिन् । 

त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको पोशाकमा कक्षा कोठामा बसून्, पोशाक हुने र नहुने विद्यार्थीबीच भेदभाव नहोस्, र शिक्षण–सिकाइमा सुधार होस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि पोशाक वितरण कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले नगरपालिकाले विद्यालय सञ्चालनमा वार्षिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे । उनले गएको वर्षदेखि एक जना बालशिक्षकको समेत व्यवस्था गरिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका सदस्य अफ्सर अहमदको अध्यक्षतामा सम्पन्न उक्त पोशाक वितरण कार्यक्रममा मुस्लिम धर्मगुरु मोहमद सज्जादले दुआ पढेका थिए। मदरसा तालिमुल कुरान धार्मिक विद्यालय हो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको विशेष आतिथ्यता रहेको थियो । 

बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हरेक वर्ष पोशाक वितरण गर्दै आएको छ। चालू आर्थिक वर्षमा १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालय गरी जम्मा २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गर्ने कार्य सञ्चालन भइरहेको छ।