धुलाबारी । 

पासाङ ल्हामू ब्याडमिन्टन क्लब मेचीनगर–१० को आयोजनामा भएको ‘प्रथम मेचीनगर वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधि विष्णु तामाङ र पवन थापा मगरको जोडीले जितेको छ ।

धुलाबारीको टाउन हलमा शनिबार सम्पन्न फाइनल खेलमा उक्त जोडीले श्रीप्रसाद धिमाल र हरिप्रसाद प्रसाईको जोडीलाई सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । उक्त जोडीले ११ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेको खेल संयोजक विष्णु तामाङले जानकारी दिए । 

धिमाल र प्रसाईको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । यो जोडीले नगद ७ हजार ट्रफी र प्रमाण पत्र पाएको छ । त्यस्तै, नन्दलाल लिम्बू र मनजित लिम्बू तथा प्रकाश दाहाल र शमशेर कार्कीको जोडीले तेस्रो स्थान हासिल गरेसँगै नगद ५ हजारसहित ट्रफी र प्रमाण पाएको छ । 

त्यस्तै, जुनियरतर्फ छविलाल खतिवडा र केशव कडरियाको जोडीले उपाधि जितेको छ । उनीहरु तेजु प्रसाईं र धनराज थापा मगरको जोडीलाई पराजित गर्दै विजेता बनेका हुन् । 

शनिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा श्रीप्रसाद धिमाल र हरि प्रसाईको जोडीले नन्दलाल लिम्बू र मनजित लिम्बूलाई पराजित गरेको थियो । यसैगरी, दोस्रो खेलमा आयोजकका विष्णु तामाङ र पवन थापा मगरको जोडीले प्रकाश दाहाल र शमशेर कार्कीको जोडीलाई पाखा लगाएको थियो ।

आयोजक समितिका अध्यक्ष कमल कुमार राउतको अध्यक्षता तथा मेचीनगर वडा नं। १० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष कञ्चन तामाङ, वडा नं. ६ का वडा अध्यक्ष ललित तामाङ, वडा नंं. १० का वडा सदस्य विशाल कार्की, धुलाबारी माविका अध्यक्ष गणेशविक्रम नेम्बाङ, नेपाल बैंक लि। धुलाबारी शाखा प्रमुख गौतम राई, ग्लोबल आइएमई बैंक धुलाबारी शाखा प्रमुख सरोज झा, राष्ट्रिय वाणिज्य बैंक धुलाबारी शाखा प्रमुख खगेन्द्र कन्दङ्वा, समाजसेवी छविलाल खतिवडा, मेची ब्याडमिन्टन क्लबका अध्यक्ष प्रकाश दाहाल, सशस्त्र प्रहरी बल काँकरभिट्टा प्रमुख शमशेर कार्की लगायतको आतिथ्यता थियो । 

समापन कार्यक्रमको सञ्चालन क्लबका सचिव युवराज चुडालले गरेका थिए । ‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने उद्घोषसहित सम्पन्न भएको दुई दिने उक्त प्रतियोगिताको मेचीनगर वडा नम्बर १० का वडा सदस्य सोम ओझाले ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक वडा नं. १० को कार्यालय रहेको थियो भने वडा नं. ९ ले सहप्रायोजन गरेको हो । प्रतियोगिताको सहयोगी संस्थामा राष्ट्रिय वाणिज्य वैक धुलाबारी शाखा, नेपाल बैंक धुलाबारी शाखा, ग्लोबल आइएमई बैंक धुलाबारी शाखा रहेका थिए ।