धुलाबारी । 

पासाङ ल्हामू ब्याडमिन्टन क्लब मेचीनगर–१० को आयोजनामा शुक्रबारबाट धुलाबारीमा ‘प्रथम मेचीनगर वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ ।  

‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने उद्घोषसहित सुरु भएको दुई दिने उक्त प्रतियोगिताको मेचीनगर वडा नम्बर १० का वडा सदस्य सोम ओझाले ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।

क्लवका अध्यक्ष कमल कुमार राउतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ऋषिराज तिम्सिना, छविलाल खतिवडालगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा श्रीप्रसाद धिमाल र हरि प्रसाईंको जोडी सेमीफाइनलमा प्रवेश गरेको छ । त्यस्तै, नन्दलाल लिम्बू र मञ्जिल लिम्बू, विष्णु तामाङ र पवन मगर तथा ओमप्रकाश दाहाल र शमशेर कार्कीको जोडी पनि सेमीफाइनलमा प्रवेश गरेको खेल संयोजक विष्णु तामाङले जानकारी दिए ।

धिमाल र प्रसाईंको जोडीले कमल राउत र सन्च लिम्बूको जोडीलाई पराजित गरेर सेमीफाइनलको यात्रा तय गरेको छ । यस्तै, लिम्बूको जोडीले युवराज चुडाल र भोला थापाको जोडीलाई पराजित गरेको छ भने तामाङ र मगरको जोडीले दुर्गाकुमार श्रेष्ठ र जितेन्द्र चौधरीको जोडीलाई हराएर सेमीफाइनल पुगेको छ । यसैगरी, दाहाल र कार्कीको जोडीले हाङकिङ लावती र गजेन्द्र लिम्बूको जोडीलाई पाखा लगाएको छ ।  

प्रतियोगिताको सेमीफाइनल र फाइनल समीकरण शनिवार हुँदैछ । खेल बिहान ७ बजेबाट टाउन हलमा सुरु हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ११ हजार नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले नगद पाँच हजार रुपैयाँ पाउने आयोजक समितिका सचिव युवराज चुडालले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजक वडा नं. १० को कार्यालय रहेको भने वडा नं। ९ ले सहप्रायोजन गरेको छ । प्रतियोगिताको सहयोगी संस्थामा राष्ट्रिय वाणिज्य बैंक धुलाबारी शाखा, नेपाल बैंक धुलाबारी शाखा, ग्लोबल आइएमई बैंक धुलाबारी शाखा रहेका छन् । धुलाबारीको हलेसी मेडिकल हल मेडिकल पार्टनरमा रहेको छ ।