झापा ।
देशभरका सहकारी संस्थाका सञ्चालकहरु पछिल्लो समय सदस्यले लगेको ऋण समयमा फिर्ता नगरेका कारण संस्था धरासायी बन्दै गएको बताउँछन् । सहकारी संस्थाहरु दैनिक जसो धितो लिलाम बिक्रीका सूचना जारी गरिरहेका छन् । बजारमा आर्थिक मन्दी छ । बजारको अवस्था नाजुक छ । पैसा जती बैंक र राष्ट्रिय बैंकमा थुप्रिएको छ । लगानी गर्दा डुब्ने डरले बैंक, सहकारी संस्था डराउँदै गइरहेको अवस्था छ ।
साना भन्दा पनि यो आर्थिक मन्दीका कारण देशकै ठूला–ठूला सहकारी अझ धेरै मारमा छन् । ऋण लगेका ऋणि सदस्यहरुलाई ऋण फिर्ता गर्न ताकेता गर्दा ऋण लाने ब्यक्तिले ताकेता गर्नेलाई ज्यान मार्नेसम्मको धम्की दिने गरेका घटना वढ्दै गइरहेका छन् ।
केही दिन अघि झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सहकारी धौलागिरी पारिजात बहुउद्देश्यीयका कर्मचारीलाई एक जना ऋणि सदस्यले ज्यान मार्नेसम्मको धम्की दिएका थिए । उक्त सहकारीका कार्यकारी प्रमुख कृष्ण पौडेललाई फोन मार्फत ज्यान मार्ने धम्की दिने ती ब्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।
असार ३ गते भापा जिल्ला सहकारी संस्थाले एक सूचना जारी गर्दै संस्थाबाट लगेको ऋण किस्ता समयमा नदिने र संस्थाले तोकेको सेवासुविधाबाट बन्चित भएपछि संस्थालाई बदनाम गर्ने खालका भिडियो सामाग्री तयार गरी सामाजिक सञ्जालमा पोष्ट गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका ऋणि सदस्यले यस्ता हर्कत गरेको सूचनामा स्पष्ट पारिएको थियो ।
देशको आर्थिक अवस्था अव पनि चलायमान नहुने हो भने धेरै यस्ता घटना बढ्दै जाने पक्का छ । देशकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–२ चारपानेका सञ्चालकहरुले पनि संस्थाबाट लगेको ऋण समयमै तिरेर सहयोग गरिदिन आग्रह गर्दै आएका छन् ।
‘अहिलेसम्म संस्थाले कसैको पनि धितो लिलामको सूचना प्रकाशन गर्नु परेको छैन र आगामी दिनमा पनि त्यस्तो अवस्था आउन नदिन यस चालु आर्थिक बर्षको असार २५ गतेसम्म लगेको ऋण फिर्ता गरेर सफल र राम्रो सदस्यको परिचय दिन सुचित गरिन्छ ।’ सामाजिक सञ्जालमार्फत भनिएको छ ।
तर, सहकारीमा एउटा ऋणि सदस्यले ऋण नतिर्दा अन्य सदस्यहरुको पैसा जोखिममा पर्ने अवस्था छ । जवसम्म बजार चलायमान थियो, उद्योगधन्दा, ब्यवसाय राम्रो हुँदा सहकारी र बैंक लगानी गर्न आतुर हुन्थे । तर, कोरोना महामारीपछि भने त्यसको मार अहिले परेको देखिन्छ ।
सदस्यलाई राम्रो मुनाफा दिदै आएका सहकारी संस्थाहरु अहिले समयमा ऋण फिर्ता नहुँदा सदस्यलाई मुनाफा दिन सकिरहेका छैनन् । उल्टै बिमा, स्वास्थ्यलगायतका सेवा वापतको रकम सदस्यबाट उठाउँन थालेका छन् । ऋण दिदा लगानी डुब्ने त्रासका सहकारी संस्थाहरु डराइरहेको अवस्था छ । केही सहकारी संस्थाका सञ्चालकहरुको गलत हर्कतका कारण पनि सहकारी संस्थाका सदस्यहरुले सहकारी बिरुद्धको अभियानलाई साथ दिदै गएका छन् ।
केही ब्यक्तिले सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भनेर अभियान सञ्चालन गरेसँगै सहकारी संस्थाका ऋणि सदस्यको मनोवल वढेर पनि ऋण तिर्न छाडेका सहकारी अभियन्ताहरुको भनाई पाइन्छ ।