बिर्तामोड । 

चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड–८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । एक कार्यक्रमका विच मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्घाटन गरेका हुन् ।  चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले भवन निर्माण भएको हो ।

शुक्रराज आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै राजदूत चेन सोङ्गले शिक्षा सबैभन्दा महत्वपूर्ण विषय रहेकोले यसमा ध्यान दिनु पर्ने बताए। चीनको विकास शिक्षाकै कारण भएको बताउँदै उनले आगामी दिनमासमेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गरे । सोङ्गले नेपाल र चीनको सम्बन्ध पुरानो रहेको भन्दै  २०७२ सालमा आएको भूकम्पपछि नेपालमा विभिन्न १० वटा विद्यालय निर्माणमा सहयोग गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडको विकासको लागि पुर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दुतावासले सहयोग पुर्याएको भन्दै धन्यवाद व्यक्त गरिन् ।  यस्तै उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नेपालमा हस्पिटल, हाईड्रोपावर, सडकमा चीनको महत्वपूर्ण सहयोग रहँदै आएको बताए । उनले विद्यालय भवन निर्माणको लागि रकम उपलव्ध गराएकोमा दुतावासको प्रशंसा गरे ।  

यसअघि चिनियाँ राजदूत सोङ्गले बिर्तामोड–९ स्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ४ सय जना विद्यार्थीलाई विभिन्न १९ प्रकारका स्टेशनरीसहितको व्याग तथा खेलकुदका सामग्री बितरण गरेका थिए ।

उनले दुर्गा मावि र शुक्रराज आधारभूत विद्यालयका १०÷१० जना विद्यार्थीलाइ जनही १० हजार रुपैयाँको दरले छात्रवृतीसमेत प्रदान गरे । चिनियाँ राजदूत सोङ्ग अझै २ दिन बिर्तामोड तथा अर्जुनधाराका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तालिका छ ।