बिर्तामोड । 

झापामा तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । बिर्तामोडमा पहिलोपटक राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता हुन लागेको हो ।  आगामी भदौ २७ र २८ गते बिर्तामोडमा आयोजक संस्था बडी ग्यारेज बिर्तामोडले आज (मंगलबार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर तयारी बारे जानकारी दिएको छ । 

पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने प्रतियोगिताका हुने प्रतियोगिता संयोजक राम दाहालले जानकारी दिए ।बिर्तामोडको बडी ग्यारेजको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । यसअघि विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो ।

त्यस्तै, दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले नगद ७५ हजार रुपैयाँ र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक दिपेन चौधरीले बताए । हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद पाँच हजार र तेस्रो हुने खेलाडीले नगद तीन हजार रुपैयाँ पाउनेछन् । 

प्रतियोगितामा देशभरबाट दुई सय जना खेलाडीहरूले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिताको सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष आदित्य पराजुलीले बताए । 

दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए । अघिल्लो संस्करणलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको थियो । बडी ग्यारेजले संयोजन गरेको सो प्रतियोगितालाई बोर्डले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहकार सुवास भट्टराई, युवा व्यवसायी युवराज निरौला, पत्रकार सुब्रत न्यौपाने, झापा जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष दिप साउदेनले शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रमका बिच काठमाडौँमा हालै सम्पन्न प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगितामा पुरस्कार जित्ने बडी ग्यारेजका खेलाडी प्रेमराज राजवंशी, अभिषेक राजवंशी र हरीश राजवंशीलाई सम्मान गरिएको थियो ।