विर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका ऋणी सदस्यले कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् ।

संस्थाले आज (शुक्रवार) कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी ऋणी सदस्यले संस्थाका कार्यकारी प्रमुख पौडेललाई ज्यान मार्ने धम्कीको भन्दै आपत्ति जनाएको छ । त्यस्तै संस्थाले ऋणि सदस्य क्षेत्रीले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएकोसमेत जनाएको छ ।
झापा साविक बुधबारे–६ हाल विर्तामोड नगरपालिक–१ मा बस्दै आएका खगेन्द्र क्षेत्रीले कार्यकारी प्रमुख पौडेललाई बिहीबार बिहान फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न संस्गाले माग गरेको छ ।
क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख रुपैयाँ ऋण लगेको र सो सावाँको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैया ऋण पुगेको र सो को ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भीमबहादुर पौडेल घरमा जाँदा कत्ति निकालेर धाकधम्की दिएको संस्थाले जनाएको छ ।
उक्त धाकधम्कीपछि संस्थाले कानुनी बाटोबाट जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए । पौडेल र क्षेत्रीविच भएको अडियो संवादमा ‘क्षेत्रीले पर्खी तँलाई घर मै आएर छप्क्याउँछुु भनेको सुनिन्छ ।’
ऋण असुलीका लागि संस्थाले पत्राचार गरेपछि कार्यकारी प्रमुख कृष्ण पौडेललाई व्यक्तिगत नम्बरमा फोन गरी घर मै आएर कत्ती हान्ने सम्मको धम्की दिएको घटना अत्यन्त निन्दनीय र भत्र्सना योग्य छ । संस्थागत व्यवहार संस्थागत रुपमा छलफल हुनुपर्नेमा कर्मचारीलाई धाकधम्की दिने कुराले कानुनको समेत बर्खिलाप गरेको छ ।
‘सहकारी अभियानमाथि चौतर्फी आक्रमणको घटना भइरहेको अवस्थामा यस्ता घटनाले सिंगो सहकारीमा कार्यरत कर्मचारीहरुको मनोबल घटाउने र ऋण लिएर तिर्नु पर्दैन भन्ने मनस्थिती भएका व्यक्तिहरुलाई मलजल पुग्ने भएकाले निज खगेन्द्र क्षेत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न प्रशासन समक्ष जोडदार माग गर्दछौं । साथै, संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षाका निमित्तसमेत स्थानीय प्रशासन समक्ष माग गर्दछौं ।’ संस्थाद्धारा पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।
एउटा सदस्यहरुले गरेको बचत अर्को सदस्यलाई ऋणको रूपमा दिइने भएकाले समयमा सावा ब्याज नबुझाउँदा सहकारी समस्यामा पर्ने अध्यक्ष भट्टराईले बताए । उनले सदस्यले लिएको ऋण समयमा तिर्नु नैतिक दायित्व भएको बताए । समयमा सावाँ ब्याज भुक्तानी नगर्ने सदस्यहरु ऊपर कानुनी कारबाही गर्नु संस्थाको बाध्यता हुने उनको भनाई थियो ।
को–अपरेटिभ मेनेजर्स क्लबका झापा सदस्य पर्वत चिमरियाले कर्मचारीमाथि हुने प्रहार सैह्य नहुने बताए । यस्ता घटनालाई प्रशासनले गम्भीरताका साथ अनुसन्धान गरी तत्काल कारबाही गर्नुपर्ने उनले माग गरे । संस्थाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएको जनाएको छ । पत्रकार सम्मेलनको सहजीकरण संस्थाका व्यवस्थापक मोहन पनेरुले गरेका थिए ।