शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिका–१० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व. लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा विहीवार आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की परिवारको तर्फबाट विद्यालयमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
दाता विष्णुमाया कार्की र परिवारको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापालाई हस्तान्तरण गरिएको छ।
दाता परिवारको तर्फबाट बोल्दै देवराज कार्कीले कोषको व्याजबाट आउने १० प्रतिशत रकम हरेक वर्ष मुलकोषमा थप गरिने बताए । उनले कोषलाई हरेक वर्ष वृद्धि गर्दै लैजाने उदेश्य रहेको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले अक्षयकोष स्थापना गर्नु कार्की परिवारको तर्फबाट महत्वपुर्ण काम भएको बताए । उनले कोषको ९० प्रतिशत व्याज रकमले छात्रवृतिको साथै दिर्घरोगी विद्यार्थीलाई समेत सघाउ पुर्याउने भन्दै प्रशंसा गरे । अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको मेहनतले नै सामुदायिक विद्यालयमा सुधार आउने उनको धारणा थियो ।
अक्षयकोष स्थापना तथा घोषणा कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, शिवसताक्षी नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्रकुमार शेर्मा र बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अक्षयकोष स्थापनाको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । बालनिकुञ्ज माध्यमिक विद्यालयमा योसँगै अक्षयकोष स्थापनाको संख्या नौ पुगेको जनाईएको छ ।