विराटनगर ।

 सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्षको कैद सजायको फैसला भएको छ । 

मोरङ अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको बिहीबारको इजालाले शर्मालाई ६७ करोड ५९ लाख जरिवाना, सोही बराबर बिगो तिर्नुपर्ने र राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८ सय ५० रुपैयाँ तिर्नुपर्ने फैसला भएको हो । सहकारीको सचिव सविना न्यौपाने र प्रबन्धक सन्दिप खवासलाई जनही २ वर्ष २ महिना कैद सजायको फैसला भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

खवासलाई २७ लाख बिगो र २७ लाख नै जरिवानाको फैसला भएको छ । उनले पीडित राहत कोषमा उनले १ लाख ८ हजार जम्मा गर्नुपर्ने फैसला भएको छ । सहकारीका सचिव न्यौपानेको हकमा भने बिगो र जरिवाना तोकिएको छैन । पीडित राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्नुपर्ने अदालतको फैसला छ ।

३ वर्षभन्दा माथि कैद सजायको माग दाबी गरिएको मुद्दामा कसुर कायम भएको १ महिनाभित्रमा सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार बिहीबार सजाय निर्धारण भएको हो । यसअघि न्यौपाने र क्षेत्रीय प्रबन्धक खवासलाई गएको आइतबार दोषी ठहर गरेको थियो । अदालतले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई भने सफाइ दिएको थियो । फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा राखिएको छ ।

सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुरमा मुद्दा दायर गरिएको थियो । अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए ।विराटनगरमा केन्द्रीय कार्यालय भएको यो सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा स्थापना गरेर बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।