झापा ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी गरिएको मापदण्डप्रति झापाका सहकारीहरुले आपत्ति जनाएका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको कारोबारलाई व्यवस्थित पारदर्शी, प्रभावकारी बनाउन भन्दै जेठ ९ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट मापदण्ड जारी गरिएको थियो ।

सहकारी क्षेत्रमा देखिएको विषम परिस्थितिमा राज्यले समस्याको सही पहिचान नै नगरिकन ऐन कानुनको कार्यान्वयन भन्दा पनि सहकारी संघ–संस्थालाई कमजोर र धरासायी बनाउने गरी मापदण्ड जारी गरेको ठहर गरिएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२ ले सहकारी संस्थालाई नै कमजोर बनाउने भन्दै मापदण्ड अविलम्ब संशोधन गर्न मागसमेत गरेका छन् ।
वचत तथा ऋण सहकारी संघ झापासहित म्यानेजर्स क्लब झापा, जिल्ला सहकारी संघ झापा र कोशी प्रदेश वचत तथा ऋण सहकारी संघले संयुक्त बिज्ञप्ति जारी गर्दै सहकारी संस्थाहरुको छाता संगठन तथा संघहरुमा आवद्ध नभएका अधिकांश संस्थाहरुमा समस्याहरु देखापरेको जनाएका छन् ।
वचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेसहितले हस्ताक्षर गरेको बिज्ञप्तिमा संघमा आवद्ध रहेका संस्थाहरुको संस्थागत विकास, क्षमता विकास र नेतृत्व विकास, व्यवसायिक प्रवद्र्धन तथा अन्तरलगानी कार्यक्रममार्फत संस्थाहरुलाई निरन्तर सवलीकरण गर्दै आइरहेको अवस्थामा जारी मापदण्डमा भने बचत तथा ऋण सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तको प्रतिकुल हुने गरी जारि गरिएको जनाइएको छ ।