दुर्गापुर ।

झापाको कनकाई नगरपालिकाले ४० जना युवालाई सीपमूलक तालिम प्रदान गरेको छ । नगरले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत उनीहरुलाई ५० दिने तालिम दिएको हो । 

युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरका ४० जना युवालाई इलेक्ट्रिसियन र प्लम्बिङ तालिम प्रदान गरिएको नगरपालिकाका रोजगार शाखा प्रमुख सरोज मैनालीले जानकारी दिए ।

५० दिने तालिममा ४० दिने सैद्धान्तिक र प्रयोगात्मक तालिम प्रदान गरिएको छ भने १० दिने उद्यमशीलता विकास तालिम प्रदान गरिरहेको उनले बताए । तालिममा सहभागीलाई न्यूनतम् दैनिक ज्याला दिएर तालिम दिइरहेका बताउँदै उनले प्रधानमन्त्री स्वरोगार कार्यक्रम अन्तरगत युवालाई सधैं रोजगार बनाउने लक्ष्यका साथ नगरपालिकाले तालिम दिन थालेको जानकारी दिए । 

talim 1 7


तालिममा सहभागीलाई दैनिक छ सय ६८ रुपैयाँ भत्ता समेत प्रदान गरिएको छ । प्रशिक्षार्थीले तालिममा सहभागी भएको आधारमा दैनिक भत्ता प्रदान गरिने छ भने उक्त भत्ताबाट उनीहरुले आवश्यक सामग्री खरिद गर्न सहयोग पुग्ने मैनालीले बताए । उनका अनुसार ४० दिन तालिम भइसकेको र अब १० दिनमा तालिम सम्पन्न हुनेछ । 

इलेक्ट्रिसियन तालिमका प्रशिक्षक दीपेन्द्र मैनालीले सीटीईभीटीको ए लेभल तहको तालिम प्रदान गरिएको बताए । उनले बिल्डिङ इलेक्ट्रिसियन र फेन बनाउन सक्ने गरी तालिम दिइएको बताए ।  तालिममा सहभागीहरु काम गर्न सक्ने भएको उनको भनाई छ । युवाहरुले स्वदेशमै रोजगार बन्न सक्ने बताउँदै विदेश जान चाहनेहरुलाई तालिमले सहयोग मिल्ने उनको भनाई छ ।

प्रशिक्षार्थी कनकाई–८ का अग्नि दाहालले बेरोजगार भएर दिन बिताउँदै आएको बताउँदै तालिमले स्वरोजगार बन्न मद्दत मिल्ने विश्वास व्यक्त गरे । अर्का कनकाई–८ लक्ष्मीपुरका सुमन साँवा लिम्बूले युवालाई चाहिने खालको तालिम प्रदान गरिएको भन्दै नगरपालिकालाई धन्यवाद दिए ।   तालिमका प्रशिक्षार्थी कनकाई–४ का केदारनाथ दाहालले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिए । नगरले अझ उपल्लो तहको तालिम दिनुपर्ने उनको भनाइ छ ।

कनकाईका नौ वटै वडाका दुई÷दुई जना युवालाई छनोट गरेर स्वदेशमै गरिखाने बनाउन प्लम्बर र इलेक्ट्रिसियन तालिम दिइएको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । उनले बढ्दो युवा पलायनलाई रोक्न युवालाई सीपयुक्त बनाउन र स्वदेशमै टिकाउन  तालिमले मघत मिल्ने विश्वास ब्यक्त गरे । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने स्वदेशै रोजगार बन्न र सिकेको सीपलाई ब्यहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका छन् ।  कनकाई नगरपालिकाको आठ लाख ५० हजार रुपैयाँको लगानीमा पाथीभरा प्रोफेशनल एजुकेशन प्रालिको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको  हो ।