हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका सहकारी संस्थाहरुलाई दुई दिने तालिम सम्पन्न भएको छ । नियमन क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूका लागि लेखा व्यवस्थापन सम्बन्धी २ दिन तालिम प्रदान गरिएको थियो ।

दुई दिनसञ्चालन भएको तालिममा कोष सञ्चालन, कर, चार खाता सञ्चालन, गोश्वारा भौचर, सम्पति शुद्विकरण, लेखा व्यवस्थापनलगायतका बिषयमा तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट सौभाग्यवती कृषि सहकारीकी अध्यक्ष रोसनी शिवाकोटी, सक्रिय ज्येष्ठ नागरिकका सचिव अर्जुन गिरी र जय दुर्गे कृषि सहकारीका सचिव तुलसी ढकालले आफ्ना अनुभव राख्दै तालिम प्रभावकारी भएको बताएका थिए । तालिमको सहजीकरण कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख उपसचिव टोमनाथ उप्रेतीले गरेका थिए।
तालिममा समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले सहकारीको उदेश्य अनुरूप संस्था र सेयर सदस्यहरू इमान्दार बन्न आग्रह गरेका थिए । उनले सहकारीको गरिमा अझ वढाउनु पर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन सहकारी शाखा प्रमुख कविता कर्णले गरेकी थिइन्।
तालिम समापन कार्यक्रममा हल्दीबारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवीवहादुर थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, प्रशासन शाखा प्रमुख बाबुराम ढकाललगायतको उपस्थिति रहेको थियो।