बिर्तामोड ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार तथा नेपाल एकीकरणका सारथी मानिएका विसे नगर्चीको नाममा स्थापित राष्ट्रिय सम्मान कार्यक्रम गरिने भएको छ । गोर्खा फाउण्डेशन नेपाल यसको आयोजक रहेको छ ।

गत वर्ष चैत्र २१ गते गरिएको यो कार्यक्रम हरेक वर्ष गरिने अध्यक्ष वीरु दर्नालले जानकारी दिए । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका ब्यक्तित्वलाई यो सम्मान् समर्पण गरिने बताइएकोछ । सबै जातजातिका महिला र पुरुषलाई चयन गरी समावेशी हुने गरी यो कार्यक्रम गरिने कार्यक्रमको उदेश्य रहेको बताइएको छ ।
गोरखा दरवारमा राज खलका भोटो सिलाउने, नगरा बजाउने तथा युद्धकलामा साथ दिएका विसेको योगदानलाई वर्तमान् पुष्तालाई जानकारी गराउँदै एउटा दलित जातिको पनि त्यो बेला राष्ट्र एकीकरण अभियानमा प्रमुख भूमिका र जिम्मेवारी थियो भन्ने इतिहासलाई चीर कालसम्म स्मरण गर्दै ताजा बनाउँने भएकोले यस्तो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
अझैपनि दलित समुदाय भित्र हिनताबोध बोकेर समाज सामु खुलेर प्रस्तुत नहुने र खुम्चिएर बस्नेहरुको कमी छैन । त्यसैले त्यो बेला पनि कपडा सिउने र बाजा बजाउने विसेले तत्कालिन राजाको सहयात्री भएर इतिहास बनाएको देखिएकोले उनलाई हेरेर पनि वर्तमान्प पुष्ताले पनि समाज र राष्ट्रको लागि केही योगदान गर्न सक्नु पर्छ भन्ने प्रेरणा मिलोस् भन्ने पनि हो ।
यस सम्मानबाट गत वर्ष वरिष्ठ निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली भुवन सिह बिश्वकर्मा, दलित महिलाबाट प्रथम प्रमुख जिल्ला अधिकारी सीता परियार र सामाजिक अभियन्ता तथा सहकारीकर्मी महेन्द्रकुमार गिरीलाई सम्मान गरिएको थियो । उनीहरुलाई जनही ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।
यही जेठ ३१ गते शनिबार कार्यक्रम गरिने फाउण्डेशनका महासचिव सुवास त्रिखत्रीले बताए । यस वर्ष सम्मानित हुने बिभिन्न ब्यक्तित्वहरुको छनौट कार्य अघि बढाइएको समेत जनाइएको छ ।