शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाको आधारभूत नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा झापाकै उत्कृष्ट भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको अनुगमन तथा निरिक्षणका क्रममा आधारभूत  नगर अस्पतालको न्यूनतम सेवा मापदण्ड मुल्यांकन कार्यक्रममा शनिश्चरे नगर अस्पताल झापाकै प्रथम भएको हो । 

शनिश्चरे अस्पतालले ७० प्रतिशत MSS Score प्राप्त गर्न सफल भएको र झापामा सञ्चालित आधारभूत अस्पताल मध्ये उक्त अंक उत्कृष्ट भएको स्वास्थ्य कार्यालय झापाका जन स्वास्थ्य निरिक्षण विश्वनाथ श्रेष्ठले बताएका छन् । 

उनका अनुसार झापाका ५ पालिकाका आधारभूत अस्पतालको निरिक्षण गरिने र जस मध्ये गौरीगञ्ज, कनकाई, बिर्तामोड र अर्जुनधाराको शनिश्चरे आधारभूत अस्पतालको अनुगमन तथा निरिक्षण गरिएको र मेचीनगरको गर्न बाँकी रहेको छ । 

पहिलो पटक कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालयले नगर अस्पतालको न्यूनतम सेवा मापदण्ड मुल्यांकन कार्यक्रम शुरु गरेको उनले बताए । जस मध्ये शनिश्चरे नगर अस्पतालले ७० प्रतिशत एमएसएस स्कोर प्राप्त गरेर उत्कृष्ट भएको हो ।  

आज शनिश्चरे नगर अस्पतालको सूचाङ्क सार्वजनिक  तथा सुधार गर्नु पर्ने सुझाव कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा. योगेस चेम्जुङ, अस्पताल व्यावस्थापन समितिका सदस्य कृषन बराल लगायतको उपस्थित रहेको थियो ।