बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका–९ गरामनीस्थित दुर्गा माध्यमिक बिद्यालयमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि सीपमुलक तालिम भइरहेको छ । अपाङ्गता भएका ब्यक्तिहरुका लागि अर्गानिक बाटेको धुप बनाउने सीपमुलक तालिम कार्यक्रम २०८२ अन्तरगत २० जनालाई तालिम प्रदान गरिएको हो । 

बिर्तामोड नगरपालिकाको आयोजना तथा लेखाजोखा तथा परामर्श केन्द्र झापाको संयोजनमा गत बैशाख ३१ गतेदेखि जेठ ९ गतेसम्म १० दिने अर्गानिक बाटेको धुप र सजावटका लागि माला बनाउने सीपमुलक तालिम भइरहेको छ । 

talim 5


तालिमको आज (मंगलबार) बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले अनुगमन गरेका छन् । अनुगमनकै क्रममा नगर शिक्षा शाखा प्रमुख भण्डारीले अपाङ्गता भएका बालबालिकाको सीपको क्षेत्रमा विकास गरेर स्वरोजगार साथै आफै आयआर्जनको बाटोमा समावेश गराउने उदेश्यले नगरको शिक्षा शाखा अन्तरगत तालिमको आयोजना गरिएको बताए । 

तालिममा बिद्यालयमा अध्ययनरत बालबालिकासहित नगरका अन्य बिद्यालयमा अध्ययनरत अपाङ्गता भएकाहरुको सहभागीता रहेको छ । तालिमको सहजीकरण निर्मला भण्डारी र कमला मिश्रले गरिरहेका छन् । तालिममा अपाङ्गता भएका बालबालिकासहित उनीहरुका अभिभावकको समेत सहभागीता रहेको लेखा जोखा तथा परामर्श केन्द्रका संयोजक भुवन पौडेलले बताए । पौडेलका अनुसार अपाङ्गता भएका ब्यक्तिलाई सीप सिकाएर घरमै बसेर थोरै लागानीमा आयआर्जन गराउने उदेश्यले तालिम आयोजना गरिएको हो । उनले तालिममा २० जनाको सहभागीता रहेको बताएका छन् । 

दुर्गा माविका स्रोत शिक्षक तथा बिर्तामोड अपाङ्गता स्वलम्वन संस्थाका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद भट्टराईले अपाङ्गता भएका ब्यक्तिहरु गरिवीको रेखामुनी अर्थात आर्थिक रुपमा कमजोर हुने गरेको बताए । उनले सीप भए शारिरिक अपाङ्गता भएका ब्यक्तिले पनि केही गर्न सक्छन् भनेर तालिम आयोजना गरिएको बताएका छन् । 

प्रशिक्षक निर्मला भण्डारीले सिन्के धुपलाई विस्थापित गरेर अर्गानिक धुपको प्रयोग गर्नु पर्नेमा जोड दिइन् । रसायनिक भन्दा पनि अर्गानिक धुप प्रयोग गर्नु पर्छ भन्ने नारासहित तालिम दिइदै आएको उनले बताइन् । 

सीपको माध्यमबाट अपाङ्गता भएका ब्यक्तिहरुले पनि आयआर्जन गर्न सक्छन् भन्ने उदेश्यले दुर्गा मावि गरामनीमा अध्ययनरत अपाङ्गता अर्थात देष्ट्रिविहिनहरुलाई प्रत्येक बर्ष सीपमुलक बिभिन्न तालिम बिर्तामोड नगर अन्तरगत दिइदै आएको दुर्गा माविका शिक्षक धमेन्द्र भट्टराई (मामा) ले जानकारी दिए ।