गरामनी ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा भलिवल प्रतियोगिता हुने भएको छ । बिर्तामोड–९ खेलकुद समितिको आयोजना तथा नगर खेलकुद विकास समितिको सह–आयोजनामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

वडा खेलकूद समितिले आज (बिहीवार) गरामनीस्थित वडा नम्बर ९ को वडा कार्यालयमा पत्रकार सम्मलेन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगिता जेठ ३ र ४ गते दुर्गा माविको खेल मैदान गरामनीमा आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विर्तामोड नगरपालिका अन्तर्गतका वडा नम्बर १ देखि १० सम्मका वडा स्तरिय १० वटा टोलीहरू सहभागी हुनेछन् । प्रतियोगितामार्फत वडा स्तरमा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्ने, युवाहरुमा खेलप्रतिको आकर्षण बढाउने तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी सद्भाव तथा सहकार्य विस्तार गर्ने प्रतियोगिताको मुख्य उदेश्य रहेको वडा खेलकूद समितिका अध्यक्ष विश्वदीप राजवंशीले बताएका छन् ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद ३१ हजार र द्वितीय स्थान हासिल गर्ने टोलीले नगद २१ हजार रुपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत म्यान अफ द म्याच, सर्वोत्कृष्ट सर्भर, सर्वोत्कृष्ट स्पाइकर, सर्वोत्कृष्ट ब्लकर, सर्वोत्कृष्ट सेटरलगायतका व्यक्तिगत विधागत पुरस्कारहरू पनि प्रदान गरिने अध्यक्ष राजवंशीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित ५ लाख ३२ हजार २०० रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।
मुख्य प्रायोजकको लागि २ लाख ५० हजार, सह–प्रायोजकको लागि १ लाख ५० हजार, प्रायोजकको लागि ५० हजार र सपोर्टरको रुपमा २५ हजारसम्म लिने योजना राखेका छ छ । पत्रकार सम्मेलनमा बिर्तामोड–९ का वडाध्यक्ष हरिबहादुर चौलागाई, नगर खेलकूद समितिका सचिव विशन लिम्बु, वडासचिव सुवासकुमार बिक, प्रतियोगिताका रेफ्री नविन रिजाललगायले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी अच्युत सुवेदीले गरेका थिए ।