बिर्तामोड ।
झापाको बिर्तामोडमा उपत्यका बाहिर मोफसलमै पहिलो पटक दुई दिने ३×३ नेशनल बास्केट वल प्रतियोगिता शुरु भएको छ ।बिर्तामोडस्थित लिटल फ्लावर्स स्कुलमा आज (आइतावर) बाट शुरु भएको प्रतियोगिताको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले उद्घाटन गरेकी छिन् ।

बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजना तथा झापा जिल्ला वास्केट बल संघको सह–आयोजनामा सञ्चालन भएको प्रतियोगितामा राष्ट्रियस्तरका १५ वटा टिमको सहभागीता रहेको छ ।
आयोजक संस्थाका अनुसार देशमै पहिलो पटक उक्त प्रतियोगिता सवै भन्दा ठूलो राशीको पुरस्कार हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख र दोस्रो हुने टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका कार्यक्रम संयोजक तथा नगर खेलकूद समितिका सदस्य बिशाल अग्रवालले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भोलि सोमवार हुनेछ ।
बिर्तामोड नगर खेलकूद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, झापा जिल्ला वास्केट बल संघका अध्यक्ष प्रकाश लिङ्देनले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत बिर्तामोड नगर खेलकूद विकास समितिका सचिव विशन लिम्बुले गरेको कार्यक्रममा बिर्तामोड–५ का निवर्तमान वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, बास्केट बल नेपालका राष्ट्रिय टिमका कप्तान सधिस प्रधान, नेपाल बास्केट बल लिंगका अध्यक्ष नमितबहादुर थापालगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन आशा गुरुङले रेकी थिइन् । प्रतियोगितामा आज लिंग चरण र भोली सेमी तथा फाइनल चरणका खेल हुने बताइएको छ । प्रत्येक खेलमा १० मिनेटको खेलमा हाइस्कोर अंग २१ वा जसले धेरै अंक ल्याउछ त्यसले जित हासिल गर्ने जनाइएको छ ।