बिर्तामोड ।
नेपाल ईङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसियसन (नेल्टा) झापाले स्थानीय तहका शिक्षा शाखा प्रमुखसँग अन्तरक्रिया गरेको छ । नेल्टाले आज (शनिवार) बिर्तामोडमा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख र कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुखसँग चुनौती र समाधानका बिषयमा अन्तरक्रिया गरेको हो । सोही अवसरमा नेल्टा झापाले २०८२ को भित्तेपात्रो समेत सार्वजनिक गरेको थियो ।

नेल्टा कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष धमेन्द्र भट्टराईले शिक्षकका लागि नेल्टाले गर्न सक्ने कार्यक्रमहरुको जानकारी गराउँदै स्थानीय तहको साथ र सहयोगको आवश्यकता रहेका बताएका छन् । नेल्टामा उच्चस्तरीय शिक्षकहरु आवद्ध रहेपनि शिक्षकहरुका धेरै समस्या भएकाले सवै स्थानीय तहहरुले सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेल्टाका देशभरका ६४ जिल्ला समिति र सातै वटै प्रदेश समिति रहेको समेत भट्टराईले जानकारी दिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा झापाका अधिकांश स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई बोलाइएको भएपनि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारीको मात्र उपस्थिति रहेको थियो । दुबै शिक्षा शाखा प्रमुखले आफुले गर्न सक्नेसम्मको सहयोग गर्ने बताएका छन् ।
नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेल्टा झापाकी सह–सचिव संगीता बस्नेतले स्वागत गरेकी थिइन् । कार्यक्रममा नेल्टा कोशी प्रदेशका सदस्य टीका सुवेदीको पनि आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण नेल्टा झापाका सचिव केशव उप्रेतीले गरेका थिए ।