दुर्गापुर । 

झापाको कनकाई नगरपालिकाले नगरलाई बालमैत्री नगर घोषणा गरेको छ । नगरको १२ औं स्थापना दिवसको अवसर पारेर आज (बिहीवार) एक समारोहकाबिच बालमैत्री स्थानीय शासनयुक्त तथा खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । 

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । 

सरकारले बालमैत्रीका लागि तय गरेको ५१ सूचकमा दुई वटा स्थानीय सूचक थप गरी ५३ वटा सूचक पूरा गरेर नगरलाई बालमैत्री नगर घोषणा गरिएको नगर प्रमुख पोखरेलले बताएका छन् । 

bal nagar


झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री नगरको रुपमा कनकाई नगर बालमैत्री नगर घोषणा गरिएको नगरका बालकल्याण अधिकारी उमानाथ ढकालले बताए । बालबिवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गर्ने गरी बालमैत्री नगर घोषणा गरिएको उनले बताए । स्वागत नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीले पारेकी थिइन् । 

लिम्बु, किरात, सन्थाल, बाल सञ्जाल, नौमतीबाजा, स्काउटसहितको टोलीले दुर्गापुरस्थित भृकुटी माविबाट भित्री सडक हुँदै र्याली गरेको थियो । यसैगरी बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, उप–प्रमुख शान्ता रोक्का, नगर बालकल्याण अधिकारी उमानाथ ढकाल, बालसन्जाल कनकाई नगर अध्यक्ष बिजय तिवारीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन जनप्रतिनिधि निर्मला खड्का र रिता उप्रेतीले संयुक्त  रुपमा गरेका थिए ।  

कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यन्वयन गर्ने निर्णय २०७९ माघ १८ गते भएको नगरले जनाएको छ । ४ बर्षको अन्तरालमा पूर्ण रुपमा बालमैत्री नगर घोषणा गर्ने कार्य सम्पन्न भएको हो । 

सुनिश्चित बालमैत्री वानी व्यहार सुखी र समृद्ध कनकाईको आधार बालमैत्री नगरको दिगोपनका लागि सवै जुटौं, कोही नछुटौं भन्ने नाराका साथ नगरलाई बालमैत्री नगर घोषणा गरिएको छ ।