झापा ।
भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छिन् । बिटेक प्रथम वर्षमा अध्ययनरत पर्साको वीरगन्जकी १९ वर्षीया प्रिशा साह विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी हुन् ।

किटमै अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेको साढे दुई महिनापछि फेरि अर्को घटना भएको हो ।
दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले पनि विश्वविद्यालयको छात्रावासस्थित आफ्नै कोठामा प्रिशामृत फेला परेको खबर प्राप्त भएको पुष्टि गरे । प्रिसाले आत्महत्या गरेको र ओडिसा प्रहरीले घटनाको अनुसन्धान थालेको जानकारी प्राप्त भए पनि विस्तृत कारण खुल्न नसकेको दासले बताएका छन् ।
परिवारका सदस्य आएपछि मात्र पोस्टमार्टम गर्ने गरी भुवनेश्वर प्रहरीले शव सुरक्षित राखेको दूतावासलाई जानकारी दिइएको छ । केआइआइटीमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्, तीमध्ये नेपाली विद्यार्थीको संख्या कम्तीमा १२ सय छ ।