बिर्तामोड । 

करिव एक महिनादेखि आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गरेको छैन । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । 

आइतवार बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी र केही सञ्चारकर्मीसमेत घाइते भएका छन् । तीमध्ये झण्डै एक दर्जनको अवस्था निकै चिन्ताजनक रहेको महासंघले जनाएको छ । विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने उद्घोष गरेका शिक्षकहरुले आन्दोलनलाई थप चक्राउने बताउँदै आएका छन् । 

शिक्षकहरुले सोमवारदेखि स्थानीय स्तरबाट पनि आन्दोलन चक्राउने भन्दै बिर्तामोड, अर्जुनधारा, दमकलगायतका स्थानमा बिरोध प्रदर्शन शुरु गरेका छन् । गत चैत २० गतेदेखि शुरु भएको आन्दोलन अझै जारी रहेपनि सरकारले उनीहरुको आन्दोलनलाई नजरअन्दाज गर्दै आएको छ । यसै क्रममा एक चिन्तित विद्यार्थी, अभिभावक, नेपाली जनताको तर्फबाट शिक्षकहरुलाई खुल्ला चिठी लेखेका छन् । 

  • शिक्षकहरूलाई खुल्ला चिठी

(विद्यार्थीका सपनाका लागि, शिक्षामा शुद्धताको लागि आन्दोलनलाई सार्थक बनाउनको लागि)

आदरणीय शिक्षकहरू,

म तपाईंहरूलाई सम्मान साथ यो चिठी लेख्दैछु । तपाईंहरू शिक्षक हुनुहुन्छ देशका भविष्य निर्माता । तपाईंहरूले २०४६ सालमा सडकमा उत्रेर देशको मुहार फेर्नुभयो । २०६२/६३ मा फेरि लोकतन्त्रका निम्ति आवाज उठाउनुभयो । त्यो समय तपाईंहरूको संघर्ष राष्ट्रका लागि थियो कुनै पार्टीको लागि होइन । तपाईंहरूको योगदानमा निस्सन्देह म गर्व गर्दछु ।

तर, आज कठोर शब्दमा भन्नैपर्छ शिक्षालयहरू राजनीतिक अखडा बन्न पुगेका छन् । शिक्षक संगठनहरू स्वतन्त्रताको होइन, दलगत स्वार्थको वकालत गर्दैछन् । विद्यार्थीहरू राजनीतिका मोहरा बनाइँदैछन् । विद्यालयहरूमा योग्यता होइन, पार्टीको टिकटले प्रधानाध्यापक बन्न थालेका छन् । शिक्षामा असत्यको खेती भएको छ । यो पीडादायी साँचो हो ।

आज तपाईंहरू फेरि सडकमा हुनुहुन्छ, शिक्षामा न्यायका लागि । तर, सरकार बहिरो बनेको छ । तपाईंहरूको आवाजलाई लाठी चार्जले दबाउने प्रयास भइरहेको छ । पानीका फोहोरा गिरफ्तारी यिनै माध्यमले तपाईंहरूको पीडालाई उपहास बनाइएको छ ।

विद्यार्थीहरूलाई बलिको बोको नबनाऔं । शिक्षा क्षेत्रलाई राजनीति र पार्टीको स्वार्थमा होम्न बन्द गरौं । हामी शिक्षक हौं कार्यकर्ता होइनौं । विद्यार्थीका निर्दोष सपनाहरू हाम्रो हातमा छन् त्यसलाई राजनीति र निजी स्वार्थका लागि चकनाचुर पार्नु अपराध हो ।

आन्दोलन गरौं, तर विवेक साथ । न्याय खोजौं, तर विद्यार्थीहरूलाई पढ्नबाट रोक्न होइन, उनीहरूका सपनाहरूजोगाउन । परिवर्तन ल्याऔं, आफ्नु सोच र चरित्र बदल्दै । आज शिक्षामा राजनीति हटाउन सकेनौं भने भोलि हाम्रा आफ्नै सन्तानहरू अन्धकारमा हराउने छन् ।

त्यसैले म तपाईंहरूसँग एक मर्माहत, दृढ र साँचो आह्वान गर्दछु,  शिक्षक जागौं । शिक्षालाई बचाऔं । विद्यार्थीका सपना जोगाऔं । जब तपाईहरु सच्चिनु हुन्छ तपाईका जायज माग पूरा गर्न आम जनता सडकमा आउने छन् ।

सन्देश धनञ्जय हसन

बिर्तामोड, झापा  

एक चिन्तित विद्यार्थी, अभिभावक, नेपाली जनता ।