बिर्तामोड । 

शान्तिपूर्ण आन्दोलनका क्रममा शिक्षकहरुमाथि काठमाडौंमा भएको धरपकड बिषयलाई लिएर झापामा शिक्षकहरुले प्रदर्शन गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका र दमक नगरपालिकामा आज (सोमवार) शिक्षकहरुले बिरोध प्रदर्शन गरेका हुन् । 

अर्जुनधारा–८ शनिश्चरे बजार मुख्य चोक र दमक–६ गणतन्त्रचोकमा बिभिन्न नारासहित शिक्षकहरुले बिरोध प्रदर्शन गरेका छन् । 

नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिका अध्यक्ष चन्द्र खत्रीको नेतृत्वमा र्याली  निकाली शिक्षक एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद, विद्यालय शिक्षा ऐन जारी गर, चाँडो भन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ जिन्दावाद, सरकार तेरो पाराले दुःख पाए सारालेलगायतका नाराजुलुस गर्दै शनिश्चरे मुख्य चोकमा कोण सभामा परिणत भएको थियो । 

यसैगरी दमकमा दमक, गौरादह नगरपालिका, गौरिगञ्ज र कमल गाउँपालिकाको संयुक्त आयोजनामा नेपाल शिक्षक महासंघ दमक नगर समितिका कार्यवहाक अध्यक्ष रघुनाथ भण्डारीको अध्यक्षतामा बिभिन्न नारासहित र्याली गरेर बिरोध प्रदर्शन गरेका थिए । 

शिक्षक एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद, विद्यालय शिक्षा एन जारी गर चाँडो भन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ जिन्दावाद, सरकार तेरो पाराले दुःख पाए सारालेलगायतका नाराजुलुससहित बिरोध प्रदर्शन गरेका छन् । बिर्तामोडका शिक्षकहरुले आजै दिन ३ बजे बिरोध प्रदर्शन गर्ने बताइएको छ ।