विराटनगर  । 

कोशी प्रदेशमा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा लोकतान्त्रिक आन्दोलनका प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ । 

२६ औ स्मृति दिवसको अवसरमा मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरि नेपालको बाम लोकतान्त्रिक आन्दोलनका लोकप्रिय प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको  योगदानको स्मरण गरिएको हो ।

स्मृति दिवसको अवसरमा विश्वविद्यालयको प्राङगणमा रहेको स्वर्गीय प्रधानमन्त्री अधिकारीको शालिकमा माल्यापर्ण गर्दै बृक्षारोपण पनि गरिएको थियो । स्मृति सभामा विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, मुकेश उपाध्याय, रजिष्टार डा. दिलनाथ फुँयाल डिन प्राडा प्रचण्डमान प्रधान, निमित्त परिक्षा नियन्त्रक भीमप्रसाद काफले, बाम बृद्धिजिबी केशवप्रसाद गौतम लगायतले नेपालको बाम लोकतान्त्रिक आन्दोलन र शिक्षा क्षेत्रमा स्वर्गीय प्रधानमन्त्री मनमोहनको  योगदानको स्मरण गरेका थिए । 

उनीहरुले आदर्श नेता र सफल प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी जीवनोपयोगी शिक्षाका लागि अनुकरणीय व्यक्तिव भएको बताएका थिए । बक्त्ताहरुले स्वर्गीय नेता अधिकारी   नेपालको लोकतान्त्रिक राजनीतिमा एक सफल राजनेता मात्रै नभएर  शिखर र सम्मानित व्यक्तित्व  तथा  जनमुखी प्रधानमन्त्री भएको चर्चा गर्दै शिक्षक र विद्यार्थीका लागि अनुकरणीय व्यक्तित्व भएको बताएका थिए  । 

स्वर्गीय  नेता  तथा पुर्व प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानलाई स्मरण गर्दैै मनमोहन स्मृति प्रष्ठिानले स्थापना गरेको प्राविधिक शिक्षालयलाई कोशी सरकारले प्रदेश सभाबाट कानुन निर्माण गरेर प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरेको हो । 

स्मृति दिवसको अवसरमा मनमोहन प्राविधिक विश्वविद्यालयका पदाधिकारी, कर्मचारी अनि स्थानिय समाजबासेवीहरुको सहभागिता थियो ।