झापा । 

करिव एक महिनादेखि आन्दोलनरत शिक्षकहरुका माग सरकारले सम्बोधन नगर्दा आन्दोलन थप चर्किदै गएको छ । शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शुरु भएको आन्दोलन अझै जारी रहेको छ। यद्यपि आइतबार भएको आन्दोलनमा प्रहरी र शिक्षकको झडपसमेत भएको थियो । 

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक तथा कर्मचारीमाथि  भएको धरपकडको विरोध गरेका छन् । उनले आन्दोलनमा घाइते भएका सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताउँदै महासंघले सबै आन्दोलनकारीलाई सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेको छ।

अझै काठमाडौं नआएका साथीहरूलाई महासंघले प्रश्न गर्दै भनेको छ, ‘आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बग्दा पनि तपाईंहरू घरमै कसरी बस्न सक्नुहुन्छ ? के आन्दोलनकारी साथीहरूको पीडाले तपाईंलाई घोच्दैन ?’ 

महासंघले आन्दोलनलाई थप बलियो बनाउन सबैलाई यथासिघ्र काठमाडौं आउन र सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। विद्यालय शिक्षा ऐन माग गर्दै महासंघ आन्दोलित बनेको हो ।