झापा ।
प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो ।

झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।
शान्तिपुर्ण शैक्षिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्द शिक्षाकर्मीमाथी लाठ्ठी प्रहार गरेको उनको भनाइ छ । ऐन माग्न आएका शिक्षक कर्मचारीमाथी बन्दुक उपहार प्रदान गरेको बताए ।

आन्दोलनको क्रममा २६ औं दिनमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले राखेको निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरीको तर्फबाट लाठी र पानीको फोहोरा प्रहार भएपछि शिक्षकहरूले समेत ढुंगा प्रहार गरेका थिए ।
यता प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै त्यसको भर्त्सना गरेको छ । शिक्षकहरूका माग सम्बोधन गर्नेतिर सरकारले ध्यान नदिएको माओवादीको आरोप छ ।आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षक आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेकी हुन् ।