झापा । 

झापा जिल्ला सहकारी संघको निर्वाचनका सवालमा सत्तापक्षीय प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले बिच विश्वास नभएको कांग्रेस झापाले जनाएको छ । 

झापा जिल्ला नेतृत्व र दुवै दलको सहकारी विभागका बीचमा गत चैत २३ गते भएको लिखित सहमति नेकपा एमाले पक्षबाट उल्लङ्घन गरिएको प्रति नेपाली कांग्रेस झापाको आपत्ति जनाएको हो । 

सहकारी संघको निर्वाचन समितिले समेत पूर्व निर्धारित निर्वाचन कार्यक्रमलाई एक पक्षीय ढंगले प्रभावित गरेर विना सहमति निर्धारित समय सकिएपछि समेत पटक पटक थप उम्मेद्वारी दर्ता र उम्मेद्वारी फिर्ता लिने कार्य गरेकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । 

सम्झौता अनुसार बाँडफाड गरिएका पदहरुमा नेपाली कांग्रेसको तर्फबाट इमान्दारिता पालना गर्दै उम्मेद्वारी दर्ता गरिएको भएपनि एमाले पक्षबाट नेपाली कांग्रेसको भागमा परेका सह–सचिव र सदस्य लगायतका पदमा सहमति विपरित दोहोरो उम्मेद्वारी दर्ता गरेर लिखित सहमति तोड्ने कार्य भएको प्रति नेपाली कांग्रेस झापाले घोर असहमति प्रकट  गरेको छ । 

प्रमुख सत्ताघटक दलको राजनीतिक संयन्त्रमा समेत भएका झापा जिल्ला नेतृत्वले लिखित सहमति गरेको विषयमा एमालेका तर्फवाट सहमति तोड्ने कार्य भएकोले आगामी दिनमा दुई दलीय जिल्ला स्तरीय राजनीति संयन्त्रको औचित्य माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको कांग्रेसले आज (शुक्रवार) एक प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको छ । 

‘दुई दलबीच भएका भद्र र लिखित सहमतिलाई पालना नगर्ने हो भने नेकपा एमालेसँगको आगामी दिनको सहकार्यमा थप कठिनाई उत्पन्न हुन सक्दैन भन्ने अवस्था रहेन ।’ कांग्रेस झापाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।  

बिज्ञप्तिमा भनिएको छ ‘तसर्थ, हाम्रो सत्तासाझेदार दल नेकपा एमालेका तर्फबाट एक पक्षले पाएको पदहरुमा अर्को पक्षले उम्मेद्वारी नदिने भनी गरिएको लिखित सहमति अनुसार इमान्दारिता पालना भएको अवस्थामा हाम्रो पार्टी सहकार्यलाई अघि वढाउन प्रतिवद्ध रहने छ ।, जिल्ला स्तरमा आगामी दिनमा दुई दलीय संयन्त्रका बीचमा सहकार्यलाई सहजता पूर्वक अघि बढाउने या नवढाउने भन्ने विषय एमालेको गतिविधिमा निर्भर रहने समेत अवगत गराउँछौं ।’ जारी बिज्ञप्तिमा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले हस्ताक्षर गरेका छन् ।