सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा तीन महिने सीप विकास तालिममा सहभागी १२ जनालाई काम गर्नका लागि उपकरण प्रदान गरिएको छ । तालिममा सहभागी हुने इलेक्ट्रीसियन तथा प्लम्बर ९ जना र तीन जना एसी फ्रिज मर्मत गर्नेलाई उपकरण किटहरु हस्तान्तरण गरिएको हो ।

२० जना तालिममा सहभागी भए पनि तालिमसँगै कार्य गर्दै आएका तीन जना एसी तथा फ्रिज मर्मत गर्नेलाई जनही ३५ हजार रुपैयाँ बराबरको र ९ जना इलेक्ट्रीसियन तथा पलम्बरको काम गर्दै आएकालाई जनही २६ हजार रुपैयाँ बराबरको उपकरण किटहरु प्रदान गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक बिवेक शिवाकोटीले जानकारी दिए ।
कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र कारितासका कोशी प्रदेश प्रादेशिक प्रमुख शंकरकुमार पौडेलले उपकरण किटहरु हस्तान्तरण गरेका थिए ।

कारितास जापानको आर्थिक सहयोग तथा कनकाई नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्धारा सञ्चालित ‘सुरक्षित वैदेशिक रोजगारको सुनिश्चितता तथा प्रवासीहरुके दीगो स्थानीय पुर्नस्थापना प्रर्वधन’ परियोजना अन्तरगत सञ्चालन भएको तालिममा सहभागी १२ जनालाई उपकरण किटहरु हस्तान्तरण गरिएको हो ।
उपकरण बितरण अघि कनकाई नगरपालिकाको ‘सुरक्षित आप्रवासन एवं जीविकोपार्जन उत्थान सम्बन्धी कार्यविधि २०८२’ तथा ‘सुरक्षित आप्रवासन आपतकालिन कोष व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०८२’ मस्यौदाहरु माथिको छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । नगरकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नगर प्रमुख पोखरेलले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण न्याधिश लक्ष्मी निरौलालले गरेका थिए । कार्यक्रमको सञ्चालन कारितासका वरिष्ठ सामाजिक परिचालक शिवाकोटीले गरेका थिए ।