बिर्तामोड ।
झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको आयोजना हुने भएको छ । कोशी प्रदेशका एक सय ५० वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै जेठ १, २ र ३ गते बिर्तामोडस्थित देबी माध्यमिक बिद्यालयमा प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको हो ।

नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीको आयोजनामा प्रत्येक जिल्लाका १०/१० विद्यालय र झापाका २० वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै विज्ञान प्रदर्शनीको आयोजना गरिएको आज (बुधवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रदर्शनीमा सामुदायिक तथा संस्थागत विद्यालयमा माध्यमिक तह ( कक्षा ९– १२) मा अध्ययनरत विद्यार्थीले सहभागीता जनाउन पाउने पत्रकार सम्मेलन जानकारी गराइएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद ४ लाख, द्वितीय हुनेलाई तीन लाख, तृतीय हुनेलाई दुई लाख र सान्तवना पुरस्कार एक लाख रुपैयाँ रहेको नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले बताए । संयोजक पोखरेलका अनुसार प्रतिभा प्रोत्साहन पुरस्कार २५ वटा प्रदर्शनीलाई नगद २५ हजार रुपैयाँका दरले प्रदान गरिनेछ ।
विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधि सम्वन्धि खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने, विद्यार्थीका मैलिक प्रकृतिका आविस्कार तथा अन्वेषणलाई प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमाले कोशीका इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले आईटी प्रविधिको विकासले प्राप्त गरेका नवीनतम उपलब्धिलाई विद्यार्थी माझ प्रस्तुत गर्दै वैज्ञानिक चिन्तन तथा खोज अनुसन्धानमा विद्यालय तहका विद्यार्थीलाई उत्प्रेरित गर्न मद्दत पुग्ने गरी पार्टीको तर्फबाट गरिएको यो कार्यक्रम नेपालकै पहिलो भएको दावी गरेका छन् । उनले शिक्षा, विज्ञान तथा प्रविधिसँग सम्वन्धित विभिन्न सामग्रीहरु एकै ठाउँमा विद्यार्थीले अवलोकन गर्ने अवसर पाउने समेतबताएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रर्दशनीमा एक लाख विद्यार्थीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । प्रर्दशनीमा विद्यालय तथा क्याम्पसका विद्यार्थी र विज्ञान प्रविधिसँग रुची राख्ने सबैलाई निःशुल्क प्रवेश गराइने छ । प्रदर्शनीमा पाँच यस विद्यार्थी प्रत्यक्ष प्रतिष्पर्धामा सहभागी हुने जनाइएको छ ।
प्रदर्शनी सम्पन्न गर्न अनुमानीत ३५ लाख बढी खर्च हुने आयोजकले जनाएको छ । प्रदर्शनीको प्राविधिक पक्षको सहयोगका लागि विद्यालयका विज्ञान तथा प्रविधिका शिक्षकहरुको समूहले भूमिका निर्वाह गर्ने र युथ पावर फाउण्डेशनसँग सहकार्य गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न स्थानीय तह, प्रदेश सरकार र विभिन्न व्यक्ति र संस्थासँग सहकार्य गरिने जनाइएको छ । विज्ञान प्रदर्शनीकै अवसर पारेर छुट्टै कार्यशालाको समेत आयोजना गरिने र कार्यशालामा सम्वन्धित विधाका विज्ञहरुले सहजीकरण गर्ने, खगोल विज्ञान र आकासीय पिण्डको टेलिस्ककोपबाट सन्ध्याकालीन अवलोकन, एआई प्रविधिको विकास, उपलब्धि र चुनौति, ‘बा’ सँग बालबालिका र अन्तरक्रिया, नेतृत्वसँग युवाका प्रश्न र उत्तर अन्तरक्रिया, नेकपा एमाले कोशीका इञ्चार्ज शेरधन राई, पार्टीका अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग छुट्टा–छुट्टै प्रेरणादायिक व्यक्तित्वहरुका जीवनी तथा प्रवचन लगायतका विषयक कार्यक्रममा समावेश गराइने संयोजक पोखरेलले बताएका छन् ।
पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सदस्य रोमनाथ ओली, एमाले झापा अध्यक्ष प्रेम गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिभागका सदस्य डा. तुलसीप्रसाद निरौला, शेखर कडेललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिभागका सचिव आर्जन वाग्लेले गरेका थिए ।