अर्जुनधारा ।
झापाको अर्जुनधारामा सम्पन्न प्रथम वडा स्तरीय टि–टवेन्टी क्रिकेटको उपाधि अर्जुनधारा ८ ले जितेको छ। नगर खेलकुद विकास समिति अर्जुनधाराको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको उपाधि विजेता अर्जुनधारा ८ ले नगद ५० हजार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा रङ्गशालामा आज (सोमवार) भएको फाइनल खेलमा वडा नम्बर ४ लाई ७ विकेटले पराजित गर्दै अर्जुनधारा ८ ले उपाधि कब्जा गरेको हो । उपविजेता भनेको अर्जुनधारा ४ ले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
टस जितेर पहिलो ब्याटिङ गरेको अर्जुनधारा ४ ले १८ ओभर पाँच बलमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियो। उसका लागि विशाल मगरले ३० बलमा ३५ रनको योगदान गरे । त्यस्तै कप्तान अर्जुन डाँगीले २१ बलमा ३३ रन प्रहार गरेका थिए । अर्जुनधारा ४ विरुद्धको बलिङमा अर्जुनधारा ८ का प्रदीप श्रेष्ठले सर्वाधिक तीन विकेट लिए।
१०९ रनको लक्ष्य पछाएर मैदान उत्रिएको अर्जुनधारा ८ ले १४ ओभर १ बलमा तीन विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्यो । जवाफी ब्याटिङमा उत्रिएको अर्जुनधारा ८ का लागि सुरुवाती चार ओभर चुनौतीपूर्ण रहे पनि कप्तान भुव सन्जेल र चन्द्र भट्टराईको साझेदारीले टिमले सहजै जित निकाल्यो ।
अर्जुनधारा ८ का लागि चन्द्र भट्टराईले ३६ बल खर्चिएर अर्धशतकसहित ६१ रन प्रहार गरे । त्यस्तै कप्तान भुवन सन्जेलले २४ बलमा ३४ रन प्रहार गरेका थिए। बलिङ तर्फ रुसिल रिमालले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिएका थिए। अर्जुनधारा ८ का लागि उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्र भट्टराई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । भट्टराईले आकर्षक बाइसाइकल सहित प्लेयर अफ दि सिरिजको ट्रफी हात पारे । उनले फाइनल खेलको उत्कृष्ट खेलाडीको पुरस्कार वाफत नगद १ हजार समेत पाए।
विजयी टिमका भुवन सन्जेलले प्रतियोगिताको बेस्ट ब्याट्सम्यानको पुरस्कार हात पार्दा अर्जुनधारा ८ कै सञ्जय धिमालले उत्कृष्ट बलरको पुरस्कार पाए भने अर्जुनधारा ३ का गौरव निरौलाले बेस्टफिल्डरको पुरस्कार पाए । उनीहरूले जनही नगद ३ हजारसहित ट्रफी पुरस्कार पाए। । प्रतियोगिताकै फ्लेयर प्ले टिमको पुरस्कार अर्जुनधारा ९ ले हात पार्यो। उसले नगद ५ हजार पुरस्कार पायो।
प्रतियोगिताका विजेता, उपविजेता तथा विभिन्न विधामा पुरस्कार हात पार्ने खेलाडीहरूलाई प्रतियोगिताको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, अर्जुनधारा ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, भोला परियार लगायतले पुरस्कार वितरण गरेका थिए ।
वडा स्तरमा खेलाडी पहिचान र नगरस्तरीय टिम निर्माण गर्ने उदेश्यका साथ गत चैत्र २० गतेबाट सुरु भएको प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका सबै ११ वटै वडाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्षता अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले गरेका थिए । स्वागत खेलकुद विकास समिति तथा पत्रकार तीलक योन्जनले गरेको कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र लिङ्देनले गरेका थिए ।