झापा । 

झापा जिल्ला सहकारी संघको निर्वाचन सरेको छ । चैत २८ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गरेका पाँच जना बिरुद्ध निवेदन परेको भन्दै निर्वाचन मिति सरेको हो । संघको निर्वाचन समितिले आइतवार सूचना जारी गर्दै दाविविरोध उपर छानविन गरेर मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउने जनाएको छ । 

निर्वाचन समितिले छानविन गरेर बैशाख ९ गतेदेखि मात्र निर्वाचन कार्यक्रम अगाडी बढाउने जारी सूचनामा उल्लेख छ । अध्यक्ष पदका एक मात्र उम्मेद्वार प्रेमकुमार कोइराला, महिला उपाध्यक्ष पदकी  उम्मेदवार देवी निरौला बस्नेत, सचिव पदका उम्मेदवार भवानीप्रसाद दंगाल,  लेखा समितिको सदस्य पदका उम्मेद्वार राजेन्द्रप्रसाद रिजालर सह–सचिव पदका  उम्मेदवार विनोद ढकाल बिरुद्ध निवेदन गरेको छ । उनीहरु दोहोरो जिम्मेवारी र कर्मचारी रहेको भन्दै निवेदन परेको बुझिएको छ । 

संशोधित सहकारी ऐनमा एउटै व्यक्ति दुईवटा संघको जिम्मेवारी र कर्मचारीले संघमा जिम्मेवारी लिन नपाउने प्रावधान रहेको बताइएको छ । संघको निर्वाचन कार्यतालिका अनुसार चैत्र २४ गते दिउँसो ३ः०० बजे सम्म दाविविरोध पछिको नामावली प्रकाशन गर्ने समय रहेकोमा निर्धारीत समय सिमा भित्र ५ वटा दाविविरोधको निवेदन परेको संघले जारी गरेको सूचनामा उल्लेख छ । 

 दाविविरोध पछिको उम्मेदवारीको नामावली प्रकाशन सहितको बाँकी निर्वाचन कार्यक्रमको कार्य तालिका आज (सोमवार) प्रकाशन गरिने सूचनामा उल्लेख छ । ८ औं कार्य कालका लागि नयाँ नेतृत्व चयन गर्न गत शनिबार मनोनयन पत्र दर्ता भएको थियो । चैत २८ गते मतदान गर्ने गरी निर्धारण गरिएको निर्वाचन कार्यतालिका चौथो पटक पनि फेरबदल हुने सूचना जारी गरिएको हो । संघका ३१३ जना मतदाता रहेका छन् ।