लक्ष्मीपुर । 

झापा जिल्ला सहकारी संघको निर्वाचनमा युवराज गिरीले सचिव पदका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । यहि चैत २८ गते हुन लागेको संघको निर्वाचनका लागि गिरीले शनिवार सचिव पदमा उम्मेद्वारी दिएका हुन् ।  गिरी पतालगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् भने उनी सहकारी क्षेत्रमा एक अनुभवी अभियन्ताको रुपमा परिचित छन् । 

एक जना सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ । युवराज गिरी, भवानीप्रसाद दंगाल र लक्ष्मीप्रसाद बास्कोटाले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

संघको अध्यक्ष पदमा प्रेमकुमार कोइरालाको मात्र र वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटाको मात्र उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको पहिलो नामावली विवरण अनुसार एक जना खुल्ला उपाध्यक्ष पदमा नारायणप्रसाद भट्टराई, डिल्ली दाहाल र अर्जुनकुमार दङ्गाल र महिला उपाध्यक्षमा देवी निरौला बस्नेत र चन्द्रकला अधिकारीले मनोनयन दर्ता गराएका छन् । 

सहसचिव टसबहादुर श्रेष्ठ र विनोद ढकालको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा केशवप्रसाद बस्नेतको मात्र उम्मेदवारी दर्ता भएको छ ।  सञ्चालक समिति सदस्य ४ जना महिला अनिवार्य हुनेगरी ७ जनाका लागि उम्मेदवारी दर्ता गर्दा चार जना महिला सञ्चालक सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । तर खुल्ला तीन जनाका लागि छ जनाले मनोनयन गराएको प्रथम नामावली सूचीमा उल्लेख छ ।

संघको लेखा सुपरिवेक्षण समितिमा आठौं कार्यकालका लागि संयोजकमा वर्तमान संयोजक चडामणि ओझा र पूर्व सञ्चालक खडानन्द गुरागाईंले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्य  पदमा मिलन आचार्य र राजेन्द्रप्रसाद रिजालले मनोनयन दर्ता गराएका छन् । संघमा ३१३ जना मतदाता रहेका छन् ।