झापा । 

देशभरका शिक्षकहरुले काठमाडौंमा शैक्षिक सडक आन्दोलन शुरु गरेका छन् । देशभरका शिक्षकहरूले आज (बुधवार) बाट  काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । 

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले आजदेखि ‘काठमाडौँ जाऔँ अभियान’ अन्तर्गत अनिश्चितकालीन  सडक आन्दोलन गर्न लागेका हुन् । 

आन्दोलनबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र  जारी गर्न मागसहित आन्दोलन थालिएको जानकारी दिए । 

आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको र अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ। भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए। 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको बताइएको छ । आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने  र काठमाडौं आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने बताइएो छ ।