सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अन्तरक्रिया गरेको छ । नगरले आज( मंगलबार) नगरपालिकाको सभा हलमा ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अन्तरक्रिया कार्यशाला गोष्ठि गरेको हो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले सहकारी संस्थाहरु अधिकांश राम्रा भएका र उनीहरुले धेरै राम्रा कामहरु पनि गर्दै गरेको बताए । उनले केही सहकारीहरुका कारण राम्रो कार्य गर्ने सहकारीलाई पनि एउटै नजरले हेर्न नहुने बताउँदै भ्रामक हल्लाकापछि नलाग्न आग्रह गरे ।
नगर प्रमुख पोखरेलले अझै पनि कतिपय सहकारीहरु स्थानीय तहसँग नजोडिएको बताउँदै आगामी बर्षदेखि जोडिन आग्रह गरे । सहकारीहरु स्थानीय तहमा जोडिएर आए स्थानीय तहबाटै समस्या समाधान गर्न सहज हुन सक्ने उनको भनाई थियो ।
सहकारीमा देखिएका समस्या समाधानकै लागि ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा अन्तरक्रिया गोष्ठी आयोजना गरिएकोले ध्यान दिएर सहकारीका नीति नियमबारे जानकारी लिन नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाले सवैले आग्रह गरे ।
कनकाई नगरपालिका भित्र रहेका सहकारीको अवस्था, चुनौती, समस्या र समाधानका बिषयमा नगर सहकारी प्रमुख कमला विश्वकर्माले जानकारी गराएकी थिइन् । विश्वकर्माले प्रस्तुत गरेको सहकारीको अवस्था अनुसार नगरमा ५१ वटा सहकारी संस्था दर्ता छन् ।
हाल नगरपालिका भित्र भने कनकाई नगरमै मुख्य कार्यालय र सेवा केन्द्र रहेका १८ वटा, मुख्य कार्यालय अन्य ठाउमा भएका सहकारीका १० वटा सेवा केन्द्र र कनकाईमा मात्र मुख्य कार्यालय रहेका १३ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् ।
कार्यक्रममा कनकाई १ का वडाध्यक्ष सुशिलाकुमार पोखरेल, २ का वडाध्यक्ष बलराम राई (प्रताप), ३ का वडाध्यक्ष युवराज चम्लागाई, ४ का वडाध्यक्ष रोशन सुवेदी, ५ का वडाध्यक्ष कृष्णबहादुर राई, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवालसहित जनप्रतिनिधि, नगरका कर्मचारी, सहकारी कर्मीलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी उमानाथ ढकालले गरेका थिए ।