बिर्तामोड ।
राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित तीन जना युवामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिर्तामोडबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङ्ग रहेको झापा प्रहरीले जनाएको छ ।
खालिङ्गलाई बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । घटनामा अन्य युवाहरु समेत भएको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।
गएराती हत्या गर्ने योजनासहित भएको आक्रमणबाट युवा संघका तीन जना युवा नेता गम्भीर घाईते भएका छन् । घाईतेहरुको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भईरहेको छ । ईन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भईरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ ।
घटना विवरण अनुसार बिर्तामोड – ४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएका थिए । घरभित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । योजनावद्ध रुपमा आक्रमण गरिएको घाइतेहरुले बताए । अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाईकलमा आएका सोहि समुहका ४ जनाले आक्रमण गरेको थियो ।
यता हत्या गर्ने योजनासहित भएको आक्रमणको घटनामा संलग्नहरुलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ । राष्ट्रिय युवा संघ झापाले संगठनका नेताहरुमाथि भएको आक्रमण ज्यानै मार्ने उद्देश्यले जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको राष्ट्रिय युवा संघ नेपाल झापाले घोर निन्दा तथा भत्सर्ना गरेको छ । आक्रमणबाट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवंम् झापा इन्चार्ज खगेन्द्रराज आङ्दाड्वे, संघका नेता विश्वदिप राजवंशी र विर्तामोड–४ निवासी अजय खवास गम्भीर घाइते भएका छन् ।
गए राति विर्तामोड निवासी खगेन्द्र खालिङ्ग राई लगायतको समूहले व्यक्तिगत रिसिवी साँधेर ज्यानै मार्ने उदेश्यले खुकुरी, तरवार प्रहार गरी आक्रमण गरेको युवा संघले जनाएको छ । घाइते युवाहरुको उपाचार बिर्तामोडस्थित विएण्डसीमा भइरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, घटनामा संलग्न अभियुक्तहरु मध्ये खगेन्द्र खालिङ्ग राईलाई प्रहरीले पकाऊ गरेको जानकारी प्राप्त भएको छ भने दुगां खालिङ्ग राई लगायत अन्य अपरिचित ३÷४ जना फरार रहेका छन् । फरार रहेकाहरुको चाँडो भन्दा चाँडो खोजी गरी कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं । साथै, घाइते युवा नेताहरुको औषधी उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौं ।
यस किसिमका घटनाले समाजमा अराजकता, अशान्ती र सामाजिक सद्भाव माथी खलल् पुर्याउने भएकोले यस्ता प्रकारका अपराधिक गिरोहहरुलाई प्रशासनले ठेगान नलगाए राष्ट्रिय युवा संघ नेपाल प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिन चाहान्छौ, अध्यक्ष फुर्वा लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।