काँकरभिट्टा ।
अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ ।
टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए । यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको ६० औँ मिनेटमा व्ल्याक बुल्सले अग्रता लिएको थियो । इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभको हेडर गोलमा परिणत भएको थियो । यसैगरी खेलको ८४ औँ मिनेटमा धरानले कमव्याक गरयो । कप्तान मिलन राईको पासमा बैकल्पिक खेलाडी सुगम जिमिले गोल गर्दै खेललाई बराबरीमा ल्याए । जिमीले व्ल्याक बुल्सका ४ जना डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउँदै खेल बराबरीमा ल्याए ।
खेलको चौथो मिनेटमा व्ल्याक बुल्सका स्लोमजोनलाई धरानका रोमन लिम्बू फाउल गरेपछि पाएको असिबेकको फ्रिकिक प्रहारले गोलपोष्टको दिशा लिन सकेन । खेलको ३३ औँ मिनेटमा धरानका कप्तान मिलन लिम्बूको प्रहार पनि बिफल भयो । ४३ औँ मिनेटमा व्ल्याक बुल्सका अलिजोनको हेडिङ धरानका गोलरक्षक प्रविन लिम्बूले बचाए । ४८ औँ मिनेटमा धरानका मौसम सुब्बालाई व्ल्याक बुल्ससका ज्याखोङगिरले फाउल गरेपछि पाएको फ्रिकिकलाई धरानका मिलन राईले प्रहार गरे पनि गोल हुन सकेन ।
खेलको ७० औँ मिनेटमा धरानका सुरज रसाइलीको प्रहार व्ल्याक बुल्सका गोलरक्षकले बिफल बनाए । उक्त बलमा धरानका तपन कार्की र सुरज रसाईलीको तालमेल नमिल्दा स्कोर गर्न चुक्यो । खेलपछि धरानका प्रशिक्षक हेम गुरुङले बलियो प्रतिद्धन्दीमाथि खेलाडीहरुको उत्कृष्ट प्रर्दशनका कारण जित हासिल गर्न सफल भएको बताए । उनले विपक्षीको रणनीति बुझेर खेल्दा जित निकाल्न सफल भएको बताए ।
व्ल्याक बुल्सका प्रशिक्षकका प्रशिक्षक सामिप्य सुवेदीले खेलाडीहरु लामो यात्राका कारण अपेक्षित प्रर्दशन गर्न नसकेको बताए । उनले टिमका महत्वपूर्ण खेलाडीहरु नभएका कारण आजको खेल गुमाउन पुगेको बताए ।
खेलको प्लेयर अफ द म्याच धरानका बैकल्पिक गोलरक्षक बिपुल मगर घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । मंगलवारको खेल विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ एफसी र मछिन्द्र फुटबल क्लबबिच हुने आयोजक क्लबका अध्यक्ष नवराज ओलीले बताए ।
चैत २ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षकले जनही २१ हजार तथा उदिमान खेलाडीले ११ हजार रुपैयाँ पाउनेछन् ।