झापा ।
झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तीन पटक च्याम्पियन बनेको छ । यसअघि १३ औँ र १४औँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा अर्जुनधारा प्रथम भएको थियो । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ ।
मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छ वटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ । अर्जुनधाराले एथलेटिक्समा ५, करातेमा २, तेक्वान्दोमा ४ र उसुमा ४ स्वर्ण जित्यो । त्यस्तै, एथलेटिक्समा २, करातेमा १, तेक्वान्दोमा ३ र उसुमा ६ रजत पदक जित्यो । अर्जुनधाराले एथलेटिक्समा ३, करातेमा ४, तेक्वान्दोमा ३ र उसुमा २ पदक जित्यो ।
त्यस्तै, १० स्वर्ण, ११ रजत र ७ कास्य पदकसहित दमक नगरपालिका दोस्रो भएको छ । दमकले एथलेटिक्समा ३, करातेमा ४ र तेक्वान्दोमा ३ स्वर्ण पदक जित्यो । त्यस्तै, एथलेटिक्समा ६, करातेमा १ र तेक्वान्दोमा ४ रजत पदक जित्यो । दमकले एथलेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा ३ पदक जित्यो ।
८ स्वर्ण, ६ रजत र १३ कास्य पदकसहित मेचीनगर नगरपालिका तेस्रो भएको छ । मेचीनगरले एथलेटिक्समा ४ र उसुमा ४ स्वर्ण जित्यो । त्यस्तै, एथलेटिक्समा १, करातेमा २, तेक्वान्दोमा १ र उसुमा २ रजत पदक जित्यो । मेचीनगरले एथलेटिक्समा ३, करातेमा १, तेक्वन्दोमा ४ र उसुमा ५ कास्य पदक जित्यो ।
त्यस्तै, ८ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेको शिवसताक्षी नगरपालिका चौथो, ७ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको बिर्तामोड पाँचौँ भए । प्रतियोगितामा कनकाई नगरपालिका ३ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित छैटौँ र बाह्रदशी गाउँपालिका ३ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित सातौँ भए ।
त्यस्तै, हल्दिबारी गाउँपालिका २ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित आठौँ, गौरीगञ्ज गाउँपालिका २ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित नवौँ र गौरादह नगरपालिका २ स्वर्ण, २ रजत र १ कास्य पदकसहित १० औँ भए । त्यस्तै, भद्रपुर नगरपालिका १ स्वर्ण, ५ रजत र ६ कास्यसहित ११ औँ र कमल गाउँपालिका १ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित १२ औँ भए । प्रतियोगितामा १ स्वर्ण, २ रजत र २ कास्य पदकसहित बुद्धशान्ति गाउँपालिका १३ औँ, १ स्वर्ण, २ रजत र १ कास्य पदकसहित झापा गाउँपालिका १४ औँ तथा १ रजत र कास्य पदकसहित कचनकवल गाउँपालिका तालिकाको अन्तिममा रहेको समितिले जनाएको छ ।
प्रतियोगितामा छात्र र छात्रामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु विधाका खेलहरू सञ्चालन भएको थियो । प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता थियो । प्रतियोगितामा विजेता खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष विन्दिया कार्की, समितिका अध्यक्ष भण्डारी, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । सोह्रौँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड गौरादह नगरपालिकाले आयोजना गर्ने तय भएको छ ।