काँकरभिट्टा। 

झापाको मेचीनगरमा आजदेखि पाँचौं मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुनेछ । 

काँकरभिट्टा खेल मैदान दिउँसो २ः३० बजेबाट हुने प्रतियोगितामा दुवै टिम जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्ने दाउमा हुनेछन् । होम ग्राउण्ड र स्थानीय समर्थनको बलमा आयोजक उच्च मनोवलका साथ मैदान उत्रिदै पाहुना टोलिलाई पाखा लगाउने रणनीति दाउमा हुनेछ । यता पाहुना टोलि भारतको जर्जियन एफसी आयोजकलाई पराजित गर्दै अन्तिम चारमा पुग्ने दाउमा रहनेछ । 

दर्शकको बिग्र प्रतीक्षा र लामो समयपछि सञ्चालन भएको पाँचौं संस्करण मेचीनगर गोल्डकपको उद्घाटन खेल अत्यन्तै रोमाञ्चक हुनेमा आयोजक आशावादी रहेको गोल्डकपक मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनाली बताउँछन् । प्रवेश शुल्क १ सय राखिएको छ । आज नारी दिवसको अवसरमा गोल्डकप हेर्न आउने सम्पूर्ण महिलाहरूलाई प्रवेश निःशुल्क गरिएको उनले जानकारी दिए ।  

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यमा तथा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको बिशेष आतिथ्यमा रहने सञ्चालन हुने सहसंयोजक विमल आचार्यले जानकारी दिए । आयोजकले टिम व्यवस्थापन देखि खेल हेर्न आउने दर्शकहरूका लागि अस्थायी बासको प्यारापिटको उचित व्यवस्थापन गरेको छ । सचिव राजु कार्कीका अनुसार अब खेलाडीले खेल खेल्ने र दर्शकले हेर्ने कार्य मात्रै बाँकी रहेको हुँदा सम्पूर्ण खेलप्रेमी दर्शकलाई खेल मैदानमा उपस्थित भएर प्रतियोगिताको अवलोकन गर्न अनुरोध गरे ।

गोल्डकपको दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लब सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २७ गते अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । 

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् । गोल्डकप सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको संरक्षणमा मेचीनगर नगरपालिका रहेको छ ।