काँकरभिट्टा । 

झापाको मेचीनगरस्थित काँकरभिट्टामा भोलि (शनिवार) बाट शुरु हुने पाँचौ मेचीनगर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । मेचीनगर गोल्डकप मुल आयोजक समितिले आज (शुक्रवार) खेल मैदानमै पत्रकार सम्मेलन गरेर गोल्डकपको तयारी बारे जानकारी दिएको हो । 

मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक एवम् कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले गोल्डकप भोलि शनिबारदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुने  जानकारी दिए । उनले गोल्डकप सफल बनाउन ३०० जनाले आजिवन सदस्य लिएका  र ६ हजार दर्शकका लागि प्यारापिट निर्माण बताए । प्रतियोगिता सम्पन्न भएको एक महिनामा गोल्डकपको हिसाव किताव सार्वजनिक गरिने उनले बताए ।

आर्थिक संयोजक समेत रहेका मुल आयोजक समितिका सहसंयोजक एवम् मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्यले छोटो समयको मेहेनतपछि ऐतिहासिक मेचीनगर गोल्डकप हुन लागेकोले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

गोल्डकपमा ए डिभिजनका ३ वटामा एपिएफ फुटबल एफसी काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड ललितपुर, विदेशी टिममा भारतको जर्जीयन एफसी कालिम्पोङ र व्ल्याक बुल्स् एफसी उजेवकिस्तान, धरान फुटबल क्लब, झापा एफसी (एनएसएल) र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर गरी ८ वटा टिम प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

भोलि (शनिवार) उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जीयन एफसी कालिम्पोङबीच प्रतिस्पर्धा हुनेछ । भोलि उद्घाटनका दिन अन्तराष्ट्रिय नारी दिवस भएकाले महिलाहरुलाई टिकट निःशुल्क गरिने आयोजक समितिका सचिव राजु कार्कीले बताए । गोल्डकप सम्पन्न गर्न करिव ८० लाख अनुमानित खर्च लाग्ने बताइएको छ । खेल मैदानलाई आकर्षक बनाइएको छ भने सुरक्षा, स्वास्थ्य र सवारी पार्किङको व्यवस्थालाई मजवुत पारिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली (दिनेश), पूर्व अध्यक्ष मिनबहादुर वस्नेत, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा) लगायतको आतिथ्य रहेको थियो ।