शिवसताक्षी। 

नेकपा (एमाले) को भगिनी संगठन अखिल नेपाल महिला संघ शिवसताक्षी नगर समितिको आयोजनामा शुक्रबार निःशुल्क खुल्ला स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको यो शिविर शिवसताक्षी नगरपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा सम्पन्न भएको हो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको अखिल नेपाल महिला सङघ शिवसताक्षीकी अध्यक्ष कोपिला चिमरिया मैनालीले बताइन् । शनिवार विहान कनकाई मुक्तिघाट परिषरमा वृहत सरसफाई रहेको उनले जानकारी दिएकी छन् ।

शिविरमा हाडजोर्नी विशेषज्ञ डा. प्रविन चौधरी, स्त्रीरोग विशेषज्ञ डा। अन्जु मण्डल, तथा फिजिसियन डा। पंकजराम र डा. देवले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परीक्षण गराएका करिब २०० जना महिला तथा पुरुष यस सेवाबाट लाभान्वित भए । साथै, २५० जना महिलालाई निःशुल्क सेनेटरी प्याड समेत आयोजक ले वितरण गरेको थियो ।

स्वास्थ्य सेवासँग सुलभ पहुँच नपाएका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो शिविरबाट लाभ उठाएका स्थानीय बासिन्दा खुसी देखिन्थे । वडा नम्बर ४ की पार्वती चौधरी भन्छिन्, ‘डाक्टर कहाँ जानुपर्छ भन्ने थाहा नहुने धेरै महिलाहरूलाई आज यहाँ विशेषज्ञ सेवा पाउने मौका मिल्यो । यस्तो शिविर बेलाबेला हुनु जरुरी छ ।’

त्यस्तै, ५५ वर्षीय मोहन राई भन्छन्, “स्वास्थ्य जाँच गराउने मन थियो, तर शहरसम्म जानु महँगो र झन्झटिलो हुन्थ्यो । यहाँ विशेषज्ञ डाक्टरहरू आफैँ आउनु भयो । जाँच गराइयो । यो त अखिल नेपाल महिला सङघको असाध्यै राम्रो काम हो ।’ राजनीति भन्दा माथी उठेर जनपक्षिय काम गर्नु राजनीति गर्ने दलका लागि आजको आवस्यक्ता भएको उनले बताए ।

कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङघ शिवसताक्षी नगर कमिटीकी अध्यक्ष कोपिला चिमरिया मैनालीले गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा महिला सङघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले थिइन् । यस्तै महिला सङघकी कोशी प्रदेश कमिटी सदस्य नरमाया कार्की, झापा जिल्ला अध्यक्ष लीला दाहाल, पार्टीका प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, जिल्ला सल्लाहकार समितिका संयोजक राधाकृष्ण खनाल, ४ नम्बर क्षेत्रीय समिति अध्यक्ष धनबहादुर थेबे लगायतको उपस्थिति थियो ।

कार्यक्रममा वक्ताहरूले महिला तथा पिछडिएको समुदायको स्वास्थ्य सेवामा पहुँच बढाउन यस्ता शिविरहरूको आवश्यकतामा जोड दिएका थिए । कार्यक्रमकी प्रमुख अतिथी मेनुका काफ्लेले महिला तथा श्रमिक वर्गको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्न लागि पर्ने बताईन् ।

कार्यक्रममा आयोजक कमिटीकी उपाध्यक्ष निर्मला प्रसाईले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव चन्द्रकला सापकोटाले गरेकी थिइन् । स्थानीय महिलाहरूको स्वास्थ्य परीक्षण र सरसफाइ जनचेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो शिविर आगामी दिनहरूमा अन्य स्थानमा पनि सञ्चालन गर्ने योजना रहेको आयोजक कमिटीले जनाएको छ ।