चारपाने ।
झापा गोल्डकप र झापा एफसीबिच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल आज (मंगलबार) बिर्तामोडमा सम्झौता भएको छ ।
बिर्तामोडमा गोल्डकप आयोजना गर्दै आएको झापा गोल्डकप समिति र नेपालकै पहिलो निजी कम्पनी झापा एफसीसँग फुटबल खेलको विकासका लागि सम्झौता भएको हो ।
सम्झौतामा फुटबल खेलको विकासका लागि दुवै पक्षको सक्रिय सहभागिता रहने, पूर्वाधार विकासमा सहकार्य रहने, ग्रास रुट, उमेर समुह, महिला फुटबल बिकासमा सहकार्य, प्राविधिक र प्रशासनिक कार्यमा आपसी सहयोग रहने, संस्थागत सहयोग तथा ब्राण्डिङमा सहकार्य र प्रायोजक पहिचान तथा सम्झौतामा सहकार्य गर्ने सहमति पत्रका दुवै अध्यक्षले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा झापा गोल्डकपका अध्यक्ष केदार गिरी र झापा एफसीका अध्यक्ष अर्पण खड्काले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायत झापा गोल्डकप आयोजक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।