बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र सहकारी अभियन्ता कमलबहादुर बस्नेतलाई सम्मान गरेको छ ।
संस्थाले २५ औं बर्ष प्रवेश गरेको अवसरमा रजत महोत्सव विशेष कार्याक्रमको आयोजना गरेर आज (आइतवार) पूर्वाञ्चल दैनिकका प्रधान सम्पादकसमेत रहेका गिरी र कर्णाली साकोसका संस्थापक अध्यक्षसमेत रहेका बस्नेतलाई नगरसहित सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले सम्मनीत गिरी र बस्नेतलाई सम्मान गरेका थिए ।
संस्थाले पुराना कर्मचारी र शेयर सदस्यहरुलाई उपचार खर्च तथा सडक कुकुरलाई उपचार गर्ने पस सोसाइटी नेपाललाई समेत सम्मान गरेको छ । संस्थामा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारी डिल्लीराम बस्नेत, मनहरि निरौला, सन्तोषकुमार श्रेष्ठ, कृष्णलाल न्यौपाने, सुजता बस्नेत, गौरादेवी ओली, गंगादेवी राई, मञ्जु खत्री र नन्दादेवी बस्नेतलाई सम्मान गरिएको छ ।
त्यस्तै, राष्ट्रियस्तरको भेट्रान बुद्धिचाल विजेता संस्थाका सञ्चालक समिति सदस्य दिलकेशर थापालाई पनि संस्थाले सम्मान गरेको छ । विभिन्न समयमा भएका फुटसल, हाजिरीजवाफ प्रतियोगितामा विजेता उपविजेतालाई पनि सम्मान गरेको छ ।
त्यस्तै, संस्थाको स्थापनाकाल २०५७ सालदेखि २०५८ सालभित्र सदस्यता लिई हालसम्म निरन्तर उत्कृष्ट कारोबार गर्ने ४८ जना शेयर सदस्यलाई सम्मानका साथै उत्कृष्ट सदस्य परिचयपत्र प्रदान गरिएको थियो ।
स्वागत संस्थाका उपाध्यक्ष रामकुमार गौतमले गरेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, सम्मानीत ब्यक्तित्व एकराज गिरी, अर्का सम्मानीत ब्यक्तित्व कमलबहादुर बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतलले गरेका थिए ।
प्रमुख अतिथि कार्कीले केही सहकारी सञ्चालकको कमजोरीका कारण राम्रा राम्रा कार्य गरिरहेको सहकारी संस्थाको पनि बदनाम हुने गरेको बताउँदै सहकारीबाट लिएको ऋण मिनाहा नहुने बताए । उनले केही ब्यक्तिको हल्लाको पछाडि लाग्दा ऋण नहुने भएकाले समस्या भए ऋण लिएको सहकारी सञ्चालकसँग बसेर छलफल गरेर अगाडी बढ्न सवैलाई आग्रह गरे ।
सोही कार्यक्रमकाबिच संस्ताका तत्कालीन उपाध्यक्ष इश्वरीप्रसाद खरेलको स्मृतिमा पाँच लाख रुपैयाँको कर्णाली अक्षयकोष स्थापनासँगै घोषणा गरिएको छ । उक्त अक्षयकोषबाट सहकारी तथा सामाजिक अभियन्तालाई सम्मान गरिनेसमेत जानकारी दिइएको छ । यसैगरी संस्थाले रजत महोत्सवको अवसरमा कर्णाली रजत जयन्ती २०८१ प्रकाशन गरेर बिमोचनसमेत गरेको छ ।
झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले ४१ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको सचिव बस्नेतले जानकारी दिए । ५६ हजार ४०९ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ रहेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न कार्यक्रम गर्दै आएको छ ।