बिर्तामोड । 

नेपाल सुपर लिग क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले सम्पूर्ण झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । आज (शनिवार) बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए ।

अध्यक्ष खड्काले योपटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु गरिएको पनि बताए । सफल प्रशिक्षक तथा लयमा रहेका सक्षम खेलाडीका कारण लिग जित्ने खड्काले दाबी गरे । तेस्रो संस्करणको नेपाल सुपर लिगमा झापा एफसीले क्लबको एम्बसेडरका रुपमा राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्कालाई दोहोर्याएको छ । 

पत्रकार सम्मेलन गरेर क्लबले टिमको तयारीबारे पनि जानकारी दिएको छ । झापा एफसीले गोलकिपर प्रशिक्षकमा झापा मेचीनगरका मीनबहादुर बस्नेत तथा सहायक प्रशिक्षकमा झापा दमकका कुमार गिरीलाई अनुबन्ध गरेको छ । क्लबले मुख्य प्रशिक्षकमा यसअघि नै बिर्तामोडका प्रवेश कटुवाललाई अनुबन्ध गरिसकेको छ । अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षक रहेका कटुवालले लिग जिताएका थिए ।

सन् २०११ मा निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

सहिद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित स्थापना भएको झापा एफसीले पछिल्लोपटक दुईवटा सी डिभिजन क्वालिफायर्स खेलेको थियो । अध्यक्ष खड्काले महिला फुटबल टिम, उमेर समूहका टिम, फुटबल एकेडेमी र आफ्नै रंगशाला बनाउने उद्देश्य रहेको बताए । त्यसका लागि ६ बिघा जग्गाको खोजी भइरहेको उनले जानकारी दिए ।

त्यस्तै, ए डिभिजनको विकेन्द्रीकरण गर्ने, क्बलहरुको एकेडेमी बनाउने, होम एन्ड अवे खेल खेलाउनेगरी सोच्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ । झापा एफसीले मार्की खेलाडीको रुपमा लाकेन लिम्बूलाई भित्र्याएको छ । उज्वेकिस्तानका अजामात अब्दुलेभ र अमेरिकाका नेपालीभाषी भुटानी प्रवीण बस्नेतले झापा एफसीबाट खेल्ने छन् । त्यस्तै, छिरिङ गुरुङलाई रिटेन गरेको छ भने आशिष गुरुङ, अभिनास स्याङतान, दिपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्ज्वल राईलाई अक्सनबाट लिएको छ । 

अध्यक्ष खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुुख नगेन्द्रप्रसाद संग्रौला, सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेसराज भण्डारी (प्रशान्त), जिल्ला खेलकूद संघ झापाका अध्यक्ष भगीरथ आले (मामा) लगायतबत्ताहरुले साथ र सहयोग गर्ने आश्वसन दिएका थिए । कार्यक्रमको सञ्चालन भुमिका पियाक लिम्बुले गरेकी थिइन् ।